कोसी कटान क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टर 



रिफ्रेसमेन्ट सेन्टर उद्धघाटन कार्यक्रममा मुख्यमन्त्री शेरधन राई लगायत ।

विराटनगर : प्रदेश १ सरकारले सुनसरीको कोसी गाउँपालिकास्थित सप्तकोसी कटान क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टर निर्माणलाई गति दिएको छ । प्रदेश सरकारले पहिलो ठूलो परियोजनाका रुपमा गाउँपालिकाको कटान क्षेत्रमा अत्याधुनिक र सुविधा सम्पन्न मुलुककै नमूना रिफ्रेसरिफे्रेसमेन्ट सेन्टर निर्माण गर्न लागेको हो । 

 

लामोदूरीका  सवारीसाधन, चालक तथा यात्रुलाई केहीसमय विश्राम र आराम गराउनका लागि यसले महत्वपूर्ण कार्य गर्ने प्रदेश सरकारको बुझाइ छ । दुर्घटना न्यूनीकरणको उद्देश्यसाथ करिव ६० करोड रुपैयाँ बराबरको लागत अनुमानसहित अघि बढाइएको सेन्टरलाई पर्यटन प्रवद्र्धनसँग जोड्ने प्रदेश सरकारको लक्ष्य  छ । 

 

‘टाढाबाट सवारी साधनमा यात्रा गर्दा यात्रु र चालक थाकेर आएका हुन्छन्,’ प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रविराज पौडेलले भने, ‘ उनीहरुलाई नै आराम गर्ने ठाउँका रुपमा रिफ्रेसमेन्ट सेन्टर बनाउन लागिएको हो ।’ उनले रिफ्रेसमेन्ट सेन्टरमा केही बेर आराम गर्दा थकान मेटिने भएका कारण यसले दुर्घटना न्यूनीकरणमा पनि मद्धत गर्ने अपेक्षा गरे । 

 

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले कोसी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको कार्यालय बिहीबार उद्घाटन गरे । मुख्यमन्त्री राईले प्रदेश सरकार हचुवाको भरमा नभइ कानून संवत हिसाबले अघि बढिरहेको जानकराी दिए । 

 

पछिल्लोसमय चौतर्फी रुपमा सरकारको आलोचना भइरहँदा मुख्यमन्त्री राईले सरकारले आसातित रुपमा काम गर्न नसकेको भन्नेहरुका लागि केहीदिन भित्र उचित जवाफ फर्काउने प्रस्ट पारे । 

प्रदेश सरकार सजगतापूर्वक, सचेतनापूर्वक अघि बढिरहेको बताउँदै उनले आर्थिक पाटोको मितव्ययीतालाई नजिकबाट हेक्का राख्दै अघि बढेको बताए । उनले भने, ‘भोलीका दिनमा सातै प्रदेशबीच यसको मूल्याँकन हुदाँ हामी कति नम्बरमा पर्ने छौ स्पस्ट हुने छ ।’  

गएको एक वर्षको अवधिमा प्रदेशमा कहाँ, के र कति काम भए पूर्ण विवरणसहितको पारदर्शी तथ्यांक एकमुष्ठ जनतासामू ल्याउने तयारीमा प्रदेश सरकार जुटेको मुख्यमन्त्री राईको भनाइ छ । 

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रप्रसाद आङ्बोले आफूहरु विस्तारै ठोस नतिजा दिनेपक्षमा उभिएको बताए । चालु आर्थिक वर्षको चौमासिक सम्ममा प्रदेशको रफ्तारका बारेमा सबैले बुझ्ने भएकाले प्रदेश सरकार सोहीअनुसार विकासको गतिमा अघि बढेको आङ्बोको भनाइ छ । 

कार्यक्रममा प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, कृषि उद्योग पर्यटन मन्त्री जगदीश कुसियत, नेपाली कांग्रेस प्रदेश एक संसदीय दलका नेता राजीव कोइरालाको उपस्थिती रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्