‘कोलिफर्म’ भेटिएका पानी उद्योगलाई मुद्दा दर्ता गर्न आलटाल



विराटनगर : मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने ‘कोलीर्फम’ भेटिएका पानी उद्योगलाई मुद्दा दर्ता गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले उदासिनता देखाएको छ । 

 

ल्याब परीक्षणका क्रममा विराटनगर र झापाका गरी १४ वटा पानी उद्योगमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकार दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ फेला परेको थियो । कोलिफर्म भेटिएको ६ महिना बितिसक्दा पनि उद्योगविरुद्ध मुद्दा दर्ता नगरिएको हो । 

 

गत साउन र भदौमा विराटनगर र झापाका पानी उद्योगमा गरिएको अनुगमन पश्चात गरिएको ल्याब परीक्षणमा ‘कोलिफर्म’ फेला परेको हो । ‘कोलिर्फम’ भेटिएको बारे १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै खाद्य प्रविधिलाई कारबाही गर्न निर्देशन समेत दिएका थिए । 

 

कारबाहीको प्रक्रिया अगाडि बढाउने अधिकार प्राप्त खाद्य प्रविधिले विभिन्न कारण देखाउँदै मुद्दा दर्ता गर्न आलटाल गरेको हो । विराटनगरका १० र झापाका चारवटा पानी उद्योगमा कोलिफर्म भेटिएको थियो ।

 

विराटनगर क्षेत्रको निकिता श्रेष्ठद्वारा सञ्चालित गोमारानी पानी उद्योग, राम विलास साहद्वारा सञ्चालित पूजाफुड एण्ड बेभरेज प्रालि, राजदीप महतोको तिरूपती जल उद्योग, सुमित साहको माउण्टेन पानी उद्योग, रक्षा र विनोद अर्यालको हाइमल जल उद्योग, किशनकुमार रायको श्रीजल उद्योग, रामप्रसाद साहको शीतल जल उद्योग, पङ्कज कर्णको जोनसन जल उद्योग, डिपल शर्माको दिव्यश्री जल उद्योग, जमुना खड्का थापाको गङ्गाजल उद्योग र सुरेन्द्र लगरवारद्वारा सञ्चालित मोरङको बुढीगङ्गा गाउँपालिका–१ को शुभजल उद्योगमा कोलीफर्म भेटिएको थियो । 

 

खाद्य प्रविधि कार्यालयले खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ बमोजिम मुद्दा चलाउने कार्यालय प्रमुख प्रमोद कोइरालाले बताएका थिए । तर, यतिका समय बितिसक्दा पनि प्रक्रिया अगाडि नबढेपछि उपभोक्ताले खाद्य प्रविधिको काम गराइप्रति शंकाको नजरले हेर्न थालेका छन् ।

 

यता खाद्य प्रविधिका प्रमुख प्रमोद कोइरालाले कर्मचारी अभाव देखाउँदै मुद्दा दर्ता नगरेको बताए । उनले मुद्दा दर्ताको चरणमा रहेको खुलाए । ‘भदौ १ गतेदेखि लागू भएको नयाँ कानूनले गर्दा हामी पनि अन्योलमा थियौं,’ उनले भने, ‘खाद्य ऐन अन्तर्गत मुद्दा प्रशासन कार्यालयमा दर्ता गर्ने कि अदालतमा भन्नेमा कन्फ्युज रहेकाले पनि समस्या भएको हो ।’ सरकारी वकिलको कार्यालयबाट पनि राय लिइसकेकाले चाँडै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिने उनले बताए । 


सुध्रिएनन् पानी उद्योग

खाद्य ऐन २०७५ बिनै महानगर क्षेत्रमा पानी उद्योग सञ्चालनमा आएको जानकारी पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पुन छापा मारेको छ । 

 

तर, छापा मार्ने क्रममा कतिपय उद्योगहरू बन्द गरेर सञ्चालकहरू फरार भएका छन् । खाद्य प्रविधिका खाद्य निरीक्षक शंकर न्यौपानेसहितको टोली पुग्दा दुईवटा पानी उद्योगका सञ्चालक अनुगमन गर्दै गरेको जानकारी पाएपछि बन्द गरेर भागेका थिए ।

 

 टोलीले चारवटा पानी उद्योगमा अनुगमन गरेको छ । त्यसक्रममा अनुज्ञापत्र बिनै सञ्चालनमा आएको विराटनगर–५ को जयश्री बालजी पानी उद्योगमा शिलबन्दी गरिएको छ । उक्त उद्योग रञ्जित अग्रवालले सञ्चालनमा ल्याएका हुन् । 

 

गत भदौको अनुगमनमा उनी उद्योग बन्द गरेर भागेका थिए । ‘अनुगमनको क्रममा उद्योगले हातको प्रयोगबाट बोतलमा पानी भरिको पाइयो,’ खाद्य निरीक्षक न्यौपानेले भने, ‘अटोमेटिक मेसिनबाट प्याकिङ्ग गर्नुपर्दछ । खाद्यले तोके बमोजिमको मापदण्ड पूरा नगरेको पाइयो ।’ त्यस्तै विराटनगर–४ स्थित गोमारानी पानी उद्योगलाई सुधाका लागि निर्देशन दिएको उनले बताए ।

पूजा फुड एण्ड वेवरेज पानी उद्योग र एकुवा दिवरेज पानी उद्योगमा अनुगमन टोली पुग्दा ताला लगाएर सञ्चालक बेपत्ता भए । 

 

प्रतिक्रिया दिनुहोस्