एक महिनापछि पाएको राहतमा कुहिएको ढुसीयुक्त चामल



जनकपुरधाम : कोरोनाभाइरसको महामारीका कारण नेपाल सरकारले देशभर गरेको लकडाउनको एक महिनाभन्दा बढि समय बितिसकेको छ ।

लकडाउनका कारण गरीब,विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरु अब भने खाना नपाएर छटपटाईरहेका छन् । तर, तिनै तहको सरकार अहिलेसम्म पनि मौन छ । जनकपुरमा भने एक महिना पश्चात उनीहरुका लागि उपमहानगरपालिकाले राहत वितरण सुरु गरेको छ तर त्यसमा पनि राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त भेटिएको हो । चामलमा अमिलो गन्ध आएको राहत पाउने स्थानीय रामा ठाकुरले बताए ।

चौतर्फी दवाव बढेपछि उपमहानगरले राहत वितरण सुरु गरेपनि गुणस्तरहीन खाद्यान्न सामग्री वितरण गरेको भन्दै स्थानीय आक्रोशित देखिएका छन् । स्थानीय बानबिर पण्डितले भने, ‘एक त विगत एक महिनादेखि राहतको पर्खाइमा थिए, आज बल्ल राहत पाएर खुशी भएँ तर घर गएर चामलको बोरा खोल्दा सबै चामलमा ढुसी देखेर मनै खिन्न भइहाल्यो ।’ राहत दिने मन थिएन् भने नदिँदा नि हुन्थ्यो तर यो सडेको चामल दिएर जनकपुरधाम उपमहानगरपालिकाले हाम्रो गरिबीसँग मजाक गरेको उनको आक्रोश थियो ।

राहतमा पाएको चामल कुहिएको पाइएपछि स्थानीयले वडा कार्यालयमा फिर्ता गरिदिएका छन् ।

गत चैत २२ गते उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो ।

बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निष्कर्ष लगाए ।

जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्