बिग बाश लिगमा सन्दिपको कमब्याक आज



काठमाडौं : बिग बाश लिगका ४ खेलपछि लिग छाडेर बंगलादेश आएका नेपाली बलर सन्दिप लामिछानेले आज लिगमा पुनरागमन गर्दैछन् । सन्दिप आज मेलबर्न स्टार्सको तर्फबाट लिगमा ब्रिस्बेन हिटविरुद्धको खेलमा मैदानमा उत्रिँदैछन् । बिग बाश लिग बीचमै छाडेर सन्दिप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आएका थिए

 

। त्यसपछि उनी नेपाली राष्ट्रिय टिमका तर्फबाट युएइविरुद्धको वनडे र टि–२० सिरिज खेल्न दुबइ गए । दुबइमा दुवै सिरिज जितेपछि अस्ट्रेलिया फर्केका सन्दिप आज लिगमा पुनरागमन गर्न लागेका हुन् । 

 

क्रिकेटसम्बन्धी सबैभन्दा ठूलो मानिएको मिडिया इएसपिएनक्रिकइन्फोले आज छापेको रिपोर्टमा सन्दिप फर्किएपछि मेलबर्न स्टार्सको सेमिफाइनल पुग्ने सम्भावना बढेको लेखेको छ । ‘लामिछाने रिटर्न बुस्ट्स मेलबर्न स्टार्स सेमिफाइनल बिड’ शीर्षक दिएर लेखिएको रिपोर्टमा मेलबर्न स्टार्सले सन्दिपको बलमा ब्रिस्बेन हिटविरुद्धको आजको खेल जित्दै सेमिफाइनलको अन्तिम स्थान सुरक्षित गर्ने सम्भावना बलियो भएको विश्लेषण गरिएको छ । 

 

रिपोर्टमा लेखिएको छ ‘लामिछानेले प्रतियोगिताको सुरुवातमा ४ खेलमा ८ विकेट लिएका थिए । बंगलादेश प्रिमियर लिग र त्यसपछि नेपालको लागि अन्तर्राष्ट्रिय ‘ड्युटी’ निभाउन जानुअघि उनको इकोनोमी रेट ६.८१ थियो । उनले बिपिएलमा सिलेट सिक्सर्सको लागि ४ विकेट लिए । नेपालको लागि ३ वन डेका ७ विकेट र ३ टि–२० मा ५ विकेट लिए ।’ 

सन्दिपले इङल्याण्डका पेस बलर लियाम प्लंकेटको ठाउँ लिनेछन् । अस्ट्रेलियाका सबै खेलाडी समेत उपलब्ध भएको अवस्थामा मेलबर्न स्टार्नले प्लेअफको यात्रा निश्चित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्