समस्यामा परेका ५३८ जनालाई गृहजिल्ला झापा लगियो



काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि काठमाडौंमा रहेका ५३८ जनालाई झापा लगिएको छ ।

लकडाउन लम्बिएसँगै समस्यामा परेका उनीहरुलाई काठमाडौंबाट झापा लगिएको हो । झापा क्षेत्र नं.४ का सांसद एलपी साँवाले २ चरणमा ५०० जना र मेची अभियान झापाले ३८ जना विद्यार्थीलाई झापा लगेको हो ।

सांसद साँवाले झापाबाट काठमाडौं अध्ययन, रोजगारी, मजदूरी, विभिन्न पेशा व्यवसायका लागि गएकाहरुलाई लगिएको बताए । “लकडानका कारण समस्यामा परेको गुनासो आएपछि दुई चरणमा १७ वटा गाडी पठाएर ल्यायौँ”, उनले भने,“केहीले आफ्नो भाडा आफै तिरे भने भाडा तिर्ने अवस्था नभएकाहरुलाई निः शुल्क ल्याइयो ।” त्यसरी ल्याइएकाहरु झापाका १५ वटै स्थानीय तहका नागरिक हुन् ।

त्यस्तै, झापाको मेची अभियानले काठमाडौंबाट ३८ जना विद्यार्थीलाई झापा लगेको हो । ती सबै विद्यार्थी मेचीनगर नगरपालिकाका हुन् । काँकडभिट्टाबाट गाडी पठाएर उनीहरूलाई निः शुल्क घर पुग्ने व्यवस्था मिलाइएको मेची अभियानका संयोजक विजय डालमियाँले बताए ।

काठमाडौंको विभिन्न कलेजमा अध्ययनरत उनीहरु लकडाउन लम्बिएसँगै समस्यामा परेका थिए । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र गृहमन्त्री रामबहादुर थापासँग समन्वय गरेपछि उनीहरुलाई झापा लागिएको संयोजक डालमियाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्