राष्ट्रपति ‘धृतराष्ट्र’, ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला ? : रामचन्द्र पौडेल



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यशैलिमाथि प्रश्न उठाएक छन् ।

आज (बुधबार) दिउँसो पार्टी कार्यालय सानेपाम बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता पौडेलले विवादित अध्यादेश तत्काल जारी गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका हुन् ।

बैठकमा नेता पौडेलले भनेका छन्–‘संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला ?’

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता, अराजकता र भाडभैलो मचाउन यस्तो अध्यादेश ल्याएको बताएका छन् । उनले भने–‘देशमा अस्थिरता, अराजकता र भाडभैलो मचाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने ?’

साथै उनले अरुको पार्टी फुटाउन अध्यादेश जारी गर्ने, सांसद अपरहण गर्न बाहुबलीहरुको प्रयोग गर्ने र उजुरी गर्न प्रहरी र सरकारी वकिल कहाँ जाँदा दर्ता गर्न अस्वीकार गरेको विषयलाई लिएर आक्रोश पोखेका छन् ।

‘देशमा न्याय हराएको छ, कानूनको शासन हराएको छ’ उनले भनेका छन्–‘कांग्रेसले मात्र यो विकल्प दिन सक्छ कि भनेर जनता यसैतिर आशान्वित हुने अवस्था कसरी पैदा गर्ने हो ? हामीले सोच्न जरुरी छ ।’

कोरोनाभाइरस (कोभिड(१९) का कारण सिंगो देश आक्रान्त भएको बेला प्रधानमन्त्री ओलीले सबै शक्ति आफूमा केन्द्रीत गर्ने नियतका साथ संवैधानिक परिषद्सम्बन्धी र पार्टीहरुमा तोडफोड मचाउने नियतले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको पौडेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्