सर्लाहीको वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार बढ्दो



सर्लाही : पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार बढेको छ । कोभिड-१९को असर नियन्त्रण गर्नकालागि सरकारद्वारा हाल देशभर लकडाउन गरिएको छ । फलस्वरूप देशको सबै क्षेत्रमा मानिसहरूको चहलपहलमा कमी आएको छ । तर वन्यजन्तु तस्कर तथा सिकारीहरूको लागि भने यो एउटा अवसर बनेको छ ।

प्रशासनले आफ्नो सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा केन्द्रित गरेको कारणले पनि यस्ता व्यक्तिहरूलाई बन्यजन्तु सिकार गर्न सजिलो भएको हो । सर्लाहीको सागरनाथ वन विकास परियोजना (पूर्वपश्चिम राजमार्गको दक्षिणमा पर्ने यो क्षेत्र) अन्तर्गतको वन क्षेत्रमा बन्यजन्तु चोरि शिकार तिब्र रूपमा वृद्वि भएको पाईन्छ ।

हरिण, घोडगधा, निलगाई, बदेल, खरायाे, वनकुखुरा, मयूर जस्ता वन्यजन्तु पाईने यस वन क्षेत्रमा सधैजसो सिकार हुने गरेको छ । केही समय अघिमात्र सागरनाथ वन विकास परियोजनाको रामनगर नजिकै एउटा नीलगाई मृत फेला परेको थियो ।

हरेक दिन कम्तिमा दुई-तिन पटक वन क्षेत्रभित्रबाट बन्दुक पड्केको आवाज आउने गरेको वन क्षेत्र नजीकका बासिन्दा बताउछन । उनीहरूले भने सबैभन्दा बढी बँदेलको चोरी सिकार हुने गरेको छ । वन क्षेत्रमा चोरी सिकारी हुन थालेपछि बँदेल र नीलगाई बस्तीमा पसेका छन् ।

त्यस्तै महोत्तरीको वन क्षेत्रमा पनि वन्यजन्तुको चोरी सिकार बढेको छ । दुई साताभित्रै डिभिजन वन कार्यालय महोत्तरीको वन सुरक्षा गस्तीले पाँचवटा घाइते वन्यजन्तुको उद्धार गरेको छ । आइतवार मध्याह्नपूर्व जिल्लाको लक्ष्मीनियाँचोक नजीकै घाइते हरिणको उद्धार गरिएको कार्यालय प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।

यसै महिनामा तीनवटा नीलगाई र एउटा चित्तलको उद्धार गरेर उपचार गराई सघन वन क्षेत्रमा छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्