प्रहरीको नाममा ‘सुसाइड नोट’लेखी सम्झनाले गरिन् आत्महत्या



बागलुङ : प्रहरीको नाममा ‘सुसाइड नोट’ लेखेर एक महिलाले आत्महत्या गरेकी छन् ।

बागलुङ नगरपालिका–३ की ३० वर्षीया सम्झना किसानले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी राकेश दवाडीको नाममा ‘सुसाइड नोट’लेखी आत्महत्या गरेकी हुन् ।

बागलुङ नगरपालिका–२ माझकोटस्थित डेरामा गत मंगलबार आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन् ।

‘सुसाइड नोट’ मा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख छ ।

गैरदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमानसँग सम्बन्ध विच्छेद भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् । उनका पूर्वपति तर्फ एक सानी छोरी छन् ।

‘सुसाइड नोट’मा श्रीमानसँग पनि सम्बन्ध विच्छेद गरेको र प्रेम सम्बन्धपछि सम्पर्कमा रहेका प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि आफू यता न उता भएर आत्महत्याको बाटो रोज्नु परेको लेखेकी छन् ।

साथै उनले सोही नोटमार्फत आफूले आत्महत्या गरेपनि पेटमा भएको बच्चाको डीएनए परीक्षण गरि दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् ।

‘सुसाइड नोट’ फेला परेसँगै सम्झनाका माइती र आफन्तले ‘आत्महत्या’ गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।

मंगलबार बिहान ११ बजेसम्म पनि ढोका बन्द भएको र नउठेको पाएपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा सिलिङमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको खबर लगत्तै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले घटनास्थलको अवस्था हेर्दै मुचुल्का संकलन गरेर शव पोस्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा लगेको थियो । उनको शवको पोस्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।

प्रहरीले मुचुल्का संकलन गरेर फर्किएपछि स्थानीय महिलाले कोठामा खोजतलास गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको ’सुसाइड नोट’ फेला पारेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्