कोरोना अपडेट :अमेरिकामा औषधिको परीक्षणले आशा जगायो



वासिङ्टन:अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् ।

विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ । औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वालस्ट्रिटसहित विश्वको शेयर बजारमा देखिएको छ ।

अमेरिकामा एक दशकयताकै सबैभन्दा खराब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो विश्वयुद्ध पछि पहिलो पटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।

कोरोनाभाइरसका कारण विश्वभर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यहीबीच कोरोनाभाइरस महामारी फैलिएपछि पहिलो पटक विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको बैठक पनि यही बिहीबार बस्दैछ । रेमडेसिभर नामको औषधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ ।

हालसम्म यो औषधि नै नयाँ कोरोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ । अमेरिकी इपिडिमियोलोजिस्ट डा.एन्थोनी फचीले संवाददाताहरुसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताए । यो औषधि इबोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो ।

यही औषधि चीनको उहानका बिरामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन । विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाकाबारेमा प्रतिक्रिया दिन अस्वीकार गरे । उनले परीक्षणको विस्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कार्यशैलीमाथि प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहेका छन् । धेरै विज्ञहरुले अमेरिकामा भाइरसको प्रसार रोक्न राष्ट्रपति ट्रम्प असफल भएपछि मानिसको ध्यान अन्यत्र मोड्न विश्व स्वास्थ्य संगठनमाथि आरोप लगाएको बताएका छन् ।

पछिल्ला विवरण अनुसार विश्वभर कोरोनाभाइरसबाट ३२ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्