दङ्गल संरक्षणमा युवा



नवलपरासी: तराई–मधेशमा निकै मनोरञ्जनपूर्ण र स्वास्थ्यका लागि उत्तम मानिएको कुस्ती (दङ्गल) खेल सरकारी बेवास्ताका कारण लोप हुने स्थितिमा पुगेकाले जिल्लाका युवा स्थानीयस्तरबाटै यसको संरक्षणमा जुटेका छन् । भारत र नेपालको तराई भेगमा आयोजना गरिने यो प्राचीन खेल पछिल्लो समय ओझेलमा परेको भन्दै पश्चिम नवलपरासीको ग्रामीण भेगका युवाले वर्षेनी प्रतियोगिता आयोजना गर्दै संरक्षणमा लागेका हुन् । यो मधेशको प्राचीन खेल हो, सांस्कृतिक, सामाजिक र शारीरिक पक्षबाट यो खेलको संरक्षण गर्न आवश्यक रहेको पूर्वकुस्ती खेलाडी एवं कुस्ती खेलका अगुवा रामवृक्ष यादव बताउँछन् । 

आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि औपचारिक प्रतियोगिता र यसको संरक्षणमा खेलकूद मन्त्रालयले ध्यान नदिनाका साथै नियमित कुस्ती खेल्दै आएका खेलाडीले समेत खेलमा सहभागिता जनाउन छाडेकाले यसको संरक्षणमा स्थानीय युवाले चासो दिएका हुन् । “प्रतियोगिता नियमितरूपमा चलाउन नसके पनि वर्षमा पटक–पटक भारत र नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुने गरेको छ”, उनी भन्छन्, “पश्चिम नवलपरासीका विभिन्न स्थानमा विभिन्न चाडपर्वसहित अन्य अवसरमा प्रतियोगिता हुने भएपछि यस क्षेत्रका पहलवान र रुचि भएका युवाले वर्षभरि खेलको तयारी गर्ने र प्रतियोगितामा गएर सहभागितासमेत जनाउने गरेका छन् ।” 

दशैँ, तिहारजस्ता पर्वका अवसरमा पश्चिम नवलपपरासी र आसपासका क्षेत्रमा भारतीय तथा नेपाली पहलवानबीच प्रतिस्पर्धा हुने गर्दछ । प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुँदै आएको छ । सोही क्रममा रामग्राम नगरपालिकास्थित हकुइमा आगामी फागुन ७ देखि ८ गतेसम्म अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ । यसअघि पुरुषका लागि मात्र प्रतियोगिता हुँदै आएकामा यस वर्ष महिलाले पनि सहभागिता जनाउँदैछन् । 

प्रतियोगितामा नेपाल र भारत दुवैतर्फका पुरुष र महिला गरी करीब ३०० कुस्तीवादले भाग लिनेछन् । प्रतियोगितामा भारतको पञ्जाव, गोरखपुर, दिल्लीलगायत स्थानका पुरुष र महिला पहलवानको सहभागिता रहेको छ भने नेपालको काठमाडौँ पोखरालगायत स्थानबाट खेलाडी आउने भएका छन् । हकुइमा हुल लागेको सो प्रतियोगिता व्यवस्थापनका लागि एक समिति गठन गरिएको छ । सांस्कृतिक, सामाजिक र शारीरिक दृष्टिकोणबाट मधेशको प्राचीन खेल संरक्षण गर्न आवश्यक भएकाले प्रतियोगिता गर्न लागिएको व्यवस्थापक समितिका सचिव धुव्र चौधरी बताउँछन् ।  

प्रतियोगिता सम्पन्न गर्न करीब रु पाँच लाख लाग्ने अनुमान गरिएकाले स्थानीय तह, सङ्घसंस्था, स्थानीय उद्योग व्यवसायीहरूसँग सहयोग मागिएको व्यस्थापन समितिले जनाएको छ । प्रतियोगिताका लागि रामग्राम नगरपालिका–१५ र १६ ले समेत आर्थिक सहयोग प्रदान गर्ने भएको वडा नं १५ का अध्यक्ष धनपति यादवको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ७५ हजार, दोस्रो हुनेले एक लाख तथा तेस्रो हुनेले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा सहभागी हुने सबै पहलवानका लागि स्थानीय स्तरबाटै जिन्सी पुरस्कारको पनि व्यवस्था गरिएको सचिव चौधरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्