महिला विश्वकपको टिकट मार्चमा बिक्रिवितरण



पेरिस :  महिला विश्वकप फुटबल प्रतियोगिता २०१९ को टिकटको किनबेच आउँदो मार्च ७ देखि हुने भएको छ ।

प्रतियोगिताको मूल आयोजक संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र स्थानीय आयोजकहरूले व्यक्तिगत रूपमा सर्वसाधारणले यही मार्च ७ देखि टिकट किन्न पाउने व्यवस्था गरिएको जनाएका छन् ।

फ्रान्समा हुने तय भएको यस प्रतियोगिताका खेल हेर्न सबैभन्दा सस्तो टिकट नौ युरोको रहेको शुक्रबार जानकारी दिइयो । फ्रान्स र दक्षिण कोरियाका बीचमा हुने उद्घाटन खेलको टिकट मूल्य भने न्यूनतम १३ युरोभन्दा माथि रहेको छ ।

प्रतियोगिताको फाइनल खेल लियोनमा हुने र त्यस खेल हेर्नका लागि टिकटको मूल्य २३ देखि ८४ युरोसम्मको तय गरिएको छ ।

प्रतियोगिता फ्रान्सका नौ सहरमा यही जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । प्रतियोगितामा २४ वटा समूह सहभागी हुनेछन् भने ५२ वटा खेल हुनेछ ।

आयोजक संस्था फिफाले चार महिनाभित्र तीन लाख ३० हजार टिकट बिक्री हुने अनुमान गरेको छ । सबैभन्दा धेरै टिकट फ्रान्स, त्यसपछि अमेरिका र तेस्रोमा बेलायतका समर्थकहरूले किन्ने अनुमान पनि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्