बाँके र रुपन्देहीमा आवत-जावत बन्द



बुटवल : प्रदेश नं ५ का रुपन्देही र बाँकेमा कोरोना भाइरस संक्रमण फेला परेपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ–जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाएको हो ।

रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं.१ को पुर्निहवामा आवतजावत गर्न बन्द गराइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई सिलबन्दी गरिएको छ । नेपालगन्जको वडा नंं. ८ स्थित अन्सारी मस्जिद र वडा नं। १ धम्बोजीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीयमा कोरोना संक्रमण भएको पुष्टि भएको गरेको हो ।

संक्रमित ६० वर्षीय पुरुष वडा नंं. ८ को डिएसपी रोड महेन्द्र पार्क क्षेत्रमा बस्दै आएका थिए । उनी हरेक दिन अन्सारी मस्जिदमा आउने–जाने गर्दथे । उनी आउ-जाउ गर्ने क्रममा थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने अनुमानमा सो क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्यावस्था सामान्य छ ।
नेपालगञ्ज धम्बोजीका अर्का एक युवकमा पनि कोरोना संक्रमणको आशंका गरिएपछि धम्बोजीको मस्जिद क्षेत्र पनि सिल गरिएको हो ।

यही वैशाख ५ गते भारतबाट सुरक्षाकर्मीलाई छलेर अर्को गाउँपालिकाको सीमा नाका हुँदै रुपन्देहीको कोटहीमाई गाउँपालिका आएका युवकलाई मझगावामा रहेको क्वारेन्टाइनमा राखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको टोलीले वैशाख १७ गते उनको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । युवकको आज मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमीरेले जानकारी दिएका थिए ।

कोरोना संक्रमण देखिएपछि युवकलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको डा सुदर्शन थापाले जानकारी दिए । “अहिले आइसोलेशनमा राखेर उपचार भइरहेको छ , उनलाई पहिलेदेखि नै छारे रोगको समस्या रहेको देखिएको छ ”, डा. थापाले भने।

यस्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) मा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी लिएका थिए । उनका अनुसार नेपालगञ्जका धार्मिकस्थलमा रहँदै आएका व्यक्तिको स्वाब नमूना जाँचका क्रममा आज रिपोर्ट पोजेटिभ भेटिएको हो । सङ्क्रमित व्यक्तिलाई सुरक्षा र स्वास्थ्य तयारीका साथ खजुरास्थित क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना आइसोलेशन अस्पतालमा उपचारका लागि लगिएको छ ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठले कोरोना सङ्क्रमितसँगै रहेका सबैको स्वाब सङ्कलन गरिसकिएको जानकारी दिए । नेपालगञ्जमा रहेका मस्जिद तथा मन्दिरमा केही दिनदेखि व्यापक रुपमा स्वाब परीक्षण थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्