आइसीसीले नेपाली खेलाडीलाई तलब पठाएकै दिन असन्तुष्टि किन



राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिबार पठाएको दुई वर्षको तलब स्वीकार नगर्ने बताएका छन्।

 

खेलाडीहरूको वर्गीकरणका बेला तीन वर्षअघि नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक टमाटाबीच तलबबारे सम्झौता हुन लागेको थियो। प्रशिक्षक टमाटाका अनुसार मासिक ५० देखि ७० हजार रुपैयाँमा सम्झौता हुन लागेकै बेला क्यान भङ्ग भएको थियो।

 

उनले भने, " मौखिक कुराकानी भइरहेकै बेला क्यान निलम्बनमा पर्‍यो। जसका कारण मैले तलब सम्झौतामा हस्ताक्षर गरेको छैन। " अहिले आइसीसीले उनलाई मासिक १५ हजारको दरले तलब पठाइदिएको बताइएको छ। जुन ग वर्गका खेलाडीहरूलाई दिने पारिश्रमिक हो। जसमा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

 

खेलाडीबाहेक क्यानका व्यवस्थापक तथा प्राविधिक विश्लेषक रमण शिवाकोटीले पनि मासिक १५ हजार रुपैयाँको दरले दुई वर्षको तलब पाउनेछन्।


पारसलाई एकमुष्ठ साढे आठ लाख

 

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले रोकिएको दुई वर्षको तलबका रूपमा एकमुष्ठ आठ लाख ४० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार मात्र रकम पठाएपछि उनीसहित क वर्गमा परेका सात खेलाडीले मासिक ३५ हजारको रूपमा २४ महिनाको तलब पाउने भएका हुन्।

 

क वर्गमा उनीसहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी छन्। दुई वर्षदेखि तलब नपाएका खेलाडीहरूको रकम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको परिषद्ले जनाएको छ।

 

विगत २ वर्षदेखि रोक्का राख्दै आएको खेलाडीहरुको मासिक तलब युएई भ्रमणमा पाएको सफलता लगत्तै पठाइदिएको हो। क, ख र ग गरी तीन श्रेणीमा राष्ट्रिय खेलाडीहरूलाई वर्गीकरण गरिएको छ। प्रत्येक समूहमा सात सात गरी २१ खेलाडीहरूले तलब पाउनेछन्।

 

जसमा क वर्गमा परेका खेलाडीले मासिक ३५ हजार, समूह बी का खेलाडीले २५ हजार र समूह सीका खेलाडीले १५ हजार पाउने व्यवस्था छ। समूह बी मा शक्ति गौचन, करण केसी, रोहित पौडेल, आरिफ शेख, ललितनारायण राजवंशी, अनिल शाह र ललित भण्डारी छन्।

 

त्यस्तै समूह सी मा विनोद भण्डारी, सागर पुन, सुनिल धमला, प्रदिप ऐरी, सुवास खकुरेल, दिलिप नाथ र सुशन भारी छन्।


पहल

क्यान निलम्बन भएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्को पहलमा उक्त रकम निकासा भएको परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले बताए। उनले भने,"दुई वर्ष बित्न लाग्दा समेत आइसीसीले तलब नपठाएपछि सदस्यसचिवले आइसीसीलाई बारम्बार ताकेता गरिरहनुभएको थियो। बल्ल पठाइदियो। अब बाँडिन्छ। "

 

युवा खेलाडीहरू वर्गीकरणको सूचीमा पर्ने प्रतीक्षामा छन्। पठाइएको रकम एक करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ रहेको छ। यो वर्ष २०१७ र २०१८ को तलब हो।


नयाँ वर्गीकरण

 

आइसीसीले क्यानले गरेको वर्गीकरण अनुसार तलब पठाएको हो। अब वर्ष २०१९ का लागि खेलाडीहरूको नयाँ वर्गीकरण हुने बताइएको छ। जसमा पुराना केही खेलाडीहरू सूचीबाट बाहिरिने छन् भने नयाँ खेलाडीहरू थपिने छन्।

 

सन्न्यास लिइसकेका खेलाडी शक्ति गौचन, सुभाष खकुरेल, सुशन भारी जस्ता खेलाडी बाहिरिने तथा अविनाश बोहोरा, सन्दीप जोरा, पवन सर्राफ, भीम सार्की जस्ता खेलाडी वर्गीकरणमा समावेश हुने प्रशिक्षक टमाटाले बताए। -बिबिसी

प्रतिक्रिया दिनुहोस्