खेल क्षेत्रलाई मर्यादित बनाउँछु : विश्वकर्मा 



चितवन :  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताएका छन् । 

आइतबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले खेल क्षेत्रलाई मर्यादित नगरेसम्म नेपाली समाजको गरिमा र प्रतिष्ठानसँगै देशको गरिमा र प्रतिष्ठा जोगाउन गाह्रो हुने बताए ।

खेल क्षेत्रमा अहिले जुन ऐतिहासिक विरासत हासिल भएको छ, त्यसलाई जोगाउनका लागि पनि खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन आवश्यक रहेको उनले उल्लेख गरे । खेल संघमा विवाद र समस्या रहेकाले ती विकृतिलाई नष्ट गरेर खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउने कार्य प्रारम्भ गरेको उनले स्पष्ट गरे ।

विवादमा रहेका संघलाई राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने नीति मन्त्रालयले लिएको बताउँदै उनले संघमा भएका विवाद समाधान गरेर खेल क्षेत्रको विकास गरिने बताए ।

भरतपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा सरकारले सकारात्मक रुपमा हेरिरहेको बताउँदै उनले भने, ‘सरकारी, निजी र गैरसरकारी क्षेत्रमा भएका स्रोत साधनको परिचालन गरेर संरचना निर्माण गर्ने कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ ।’

धुर्मुस/सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि गरेको घोषणा खेलका संरचना निर्माण गर्ने दिशातर्फ एउटा सकारात्मक कदम भएको उनको भनाइ छ । सबै स्थानीय तहमा एउटा/एउटा खेल ग्राम निर्माण गर्ने कार्ययोजनाका साथ स्थानीय खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको मन्त्री विश्वकर्माले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्