विरहीको उपचार हुँदै



काठमाडौं: नेत्रविक्रम चन्द समूहसम्बद्ध केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ ।

उनी लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा पुगेका हुन् । प्रहरीको निगरानीमा रहेका उनलाई सोही साँझ भरतपुर अस्पतालमा भर्ना गरी क्याबिन नं ३०२ मा राखिएको छ ।

वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उनको उपचार गर्ने काम जारी छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विरहीको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारमा कुनै कमी हुन नदिने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा.अधिकारीले उनको रोगअनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको र मधुमेह, मिर्गौला, थायरायड र उच्च रक्तचापको समेत उपचार भइरहेको जानकारी दिए ।

डा.अधिकारीका अनुसार विरहीलाई पहिलेदेखि नै ती रोगको समस्या थियो । लिस्नुबाट लडेपछि उच्च रक्तचापको समेत समस्या थपिएको छ । आजैदेखि उच्च रक्तचाप नियन्त्रणका लागि औषधि प्रयोग गरिएको छ । अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा.श्रवणकुमार थापाका अनुसार विरहीको मेरुदण्डको हाड थोरै मात्र धसिएको छ ।

अहिले उनलाई आरामको आवश्यकता रहेको बताउँदैै उनले नदुख्ने औषधि मात्रै दिइएको र पछि फिजियोथेरापीसमेत गरिने जानकारी दिए । अध्यक्ष डा.अधिकारीसहित फिजिसियनको समूहले पनि विरहीको स्वास्थ्य परीक्षण गरिरहेको छ । अस्पतालले उनको स्वास्थ्य समस्य अनुसार विशेषज्ञ चिकित्सकको पालो मिलाएर परीक्षण गरिएकोे अवगत गराएको छ ।

विरहीको परिवारले पनि अस्पतालमा आवश्यक सम्पूर्ण उपचार भइरहेको जनाएको छ । पार्टीको मर्यादाक्रममा छैटौँ तहका नेता विरही हाल प्रकाशन विभागका प्रमुख हुन् । भूमिगत अवस्थामा चितवनको राप्ती नगरपालिका वडा नं.१० समिटारमा रहेको अवस्थामा घरको लिस्नुबाट झर्ने क्रममा लडेर उनको ढाडमा समस्या आएको हो ।

समस्यापछि उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा आएका समयमा प्रहरीले उनलाई निगरानीमा राखेको हो । प्रहरीले नै साँझ उनलाई भरतपुर अस्पताल ल्याएको हो । रत्ननगर नगरपालिका वडा नंं ५ का ५० वर्षीय विरही बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रही लामो समयदेखि भूमिगत रहँदै आएका थिए । सर्वहारा श्रमिक संगठनबाट राजनीति शुरु गरेका उनी नेकपा (एकता-केन्द्र), नेकपा (माओवादी) हुँदै अहिले चन्द निकट राजनीतिमा सक्रिय छन् । रासस

प्रतिक्रिया दिनुहोस्