रासायनिक मल अभाव



नवलपरासी: (बर्दघाट सुस्ता पश्चिम) मा रासायनिक मल अभाव देखिएको छ ।

माग अनुसारको मल आपूर्ति हुन सकेको छैन । नजिकिँदै गरेको धानको बीउ राख्ने समय र धान रोप्ने कार्यमा किसानलाई समस्या हुने सुस्ता १ फेचुवाका किसान दीपेन्द्र चौधरीले बताए ।

धानको बीउ राख्नका लागि खेतमा पोटास, युरिया, डिएपीलगायत मल आवश्यक पर्छ । ‘अहिले धानको बीउ छर्ने बेला आएको छ, मलको अभावमा समयमा बीउ छर्न पाइँदैन भन्ने चिन्ता छ’, चौधरीले भने ।

पश्चिम नवलपरासीमा वार्षिक १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि करीब आठ हजार मेट्रिक टन मात्र जिल्लामा प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले जनाएको छ ।

‘किसानलाई माग अनुसार आपूर्ति गर्न सकिएको छैन । हरेक वर्ष मागअनुसार अभाव हुन्छ, यस पटक बन्दाबन्दीका कारण किसानहरुले माग गरेअनुसार मल दिन सकिएको छैन’, कार्यालयका प्रमुख प्रकाशचन्द्र ज्ञवालीले भने ।

पश्चिम नवलपरासीमा कुल २९ हजार २८५ हेक्टर खेतीयोग्य जमीन छ । सोमध्ये २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । सो खेतीमा वार्षिक ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्