चेल्सीको पोष्टमा म्यानचेस्टर सिटीको आधा दर्जन गोल



एजेन्सी : इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई ६-० गोलको फराकिलो अन्तरले हराएको छ। इत्तिहाद रंगशालामा हात पारेको महत्वपूर्ण जितसँगै म्यानचेस्टर सिटी पुनः अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा खेलिएको उक्त खेलमा म्यानचेस्टर सिटीका लागि सर्जियो एग्वेरोले ह्याट्रिक गरे। ३० वर्षीय अर्जिन्टिनी खेलाडीले इङ्लिस प्रिमियर लिगमा गरेको ह्याट्रिक सँख्या ११ पुगेको छ। उनी एलन सिएररसँगै प्रिमियर लिगमा सबैभन्दा बढी ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन्।

सिएररले पनि प्रिमियर लिगमा ११ वटा ह्याट्रिक गरेका थिए। सबै प्रतियोगितालाई मिलाउँदा भने म्यानचेस्टर सिटीका लागि एग्वेरोले गरेको यो १५औं ह्याट्रिक हो। खेल अवधिभर चेल्सीमाथि हाबी भएको म्यानचेस्टर सिटीका लागि चौथो मिनेटमै रहिम स्टर्लिङले पहिलो गोल गरेका थिए। १३औं मिनेटमा एग्वेरोले टोलीको अग्रता दोब्बर बनाए। १९औं मिनेटमा एग्वेरोले नै म्यानचेस्टर सिटीलाई ३-० को अग्रता दिलाएका थिए।

यसैगरी २५औं मिनेटमा ईकी गुन्डोगनले गोल थपेपछि पहिलो हाफमै म्यानचेस्टर सिटी ४-० ले अगाडि बढेको थियो। ५६ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पनि चेल्सीको पोष्टमा दुई गोल थप्यो। एग्वेरोले ५६औं मिनेटमा पेनाल्टीमार्फत गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे। निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि स्टर्लिङले ब्यक्तिगत रुपमा दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे। प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको सूचीमा एग्वेरोपछि रोबी फोलर दोस्रो स्थानमा छन्। उनले नौवटा ह्याट्रिक गरेका छन्।  

प्रतिक्रिया दिनुहोस्