पाँचथरमा लकडाउनको उल्लंघन



पाँचथर: पाँचथरमा सर्वसाधारणबाट लकडाउनको प्रभावकारी कार्यान्वयनमा असहयोग भएको छ ।

सर्वसाधारणकै हितका लागि कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन जारी गरिएको भए पनि सर्वसाधारणबाट लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो छ ।

बजारी तथा ग्रामीण इलाकामा बढेको लकडाउन उल्लंघनले संक्रणको जोखिम बढाएको छ । कोरोना भाइरस संक्रमणको लामो समयपछि समेत कोभिड-१९ का लक्षणहरु देखिने हुँदा लकडाउन उल्लंघनले समस्या निम्तन सक्ने भन्दै प्रशासनले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सघाउ पुर्याउन जिल्लावासीलाई अपिल गर्दै आएको छ ।

जिल्लाको सदरमुकाम फिदिममै अत्यावश्यक बाहेकका बजार पसलसमेत खोल्ने, अनावश्यक भीडभाड गर्ने तथा सवारी साधन सञ्चालन गर्ने क्रम बढेको छ । सदरमुकाममा अत्यावश्यकबाहेकका शृङ्गार, लत्ताकपडा, निर्माण सामग्रीलगायत पसलसमेत आंशिकरूपमा खुल्न थालेका छन् ।

प्रहरीले कडाइ गरेको समयमा यस्ता पसल बन्द गर्ने र प्रहरीको आँखा छलेर खोल्ने क्रम बढ्दो छ । प्रहरीले दैनिकरूपमा गस्ती गर्नुका साथै सर्वसाधारण तथा व्यवसायीलाई समेत तुल्याउँदै आएको भए पनि लकडाउन कार्यान्वयनमा सर्वसाधारणबाट सहयोग भएको छैन ।

यहाँका सानादेखि ठूलासम्म किराना पसल विगतबाटै आंशिकरूपमा खुल्दै आएकामा पछिल्लोपटक अन्य पसलसमेत खुल्न थालेका हुन् । यहाँ धेरै किराना पसल तथा स-साना होटल एकै स्थानबाट सञ्चालित छन् । जसकारण धेरै मानिस भेला हुने तथा भीडभाड हुने गरेको छ । सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्रलगायतले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सहयोग गरी कोभिड-१९ को संक्रमणबाट बच्न सहयोग गर्न सर्वसाधारणलाई नियमित जसो अपिल गर्दै आएका छन् ।

यस्तै ग्रामीण सडकमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन संचालन गर्ने क्रमसमेत बढिरहेको छ । प्रहरीको आँखा छलेर अत्यावश्यक काम नहुनेलेसमेत सवारी साधन संचालन तथा प्रयोग गरिरहेका छन् ।

यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय काममा खटिएका सवारीका साधनले समेत यात्रु बोक्ने गर्नाले सङ्क्रमणको जोखिम बढेको हो । प्रहरीले दैनिकजसो अत्यावश्यक काममा बाहेक सञ्चालित सवारी साधन नियन्त्रणमा लिने गरेको छ । तर, जनप्रतिनिधि तथा अन्य पहुँचवालाको दबाबमा नियन्त्रणमा लिइएका सवारी साधन एक-दुई दिनमै छाड्ने क्रमले सवारी साधन सञ्चालन निर्वाध जस्तै बनेको छ । रासस

प्रतिक्रिया दिनुहोस्