सिरिए फुटबल: युभेन्ट्सद्वारा सासुओलोमाथि सहज जित



रोम : इटालियन सिरिए फुटबलको सोमबार विहान खेलिएको खेलमा ‘लिग लिडर’ युभेन्ट्सले सासुओलोमाथि ३-० गोलको सजिलो जित हात पारेको छ । जितसँगै युभेन्ट्सले आफ्नो निकट्तम प्रतिद्वन्द्वी नापोलीसँग ११ अंकको अग्रता हासिल गरेको छ । खेलको पहिलो हाफमै एक गोल गरेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेल सुरु भएको २३औं मिनेटमा सामी खेदिराले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । क्रिस्टियानो रोनाल्डोको प्रहारलाई सासुओलोका गोलरक्षकले फर्काएपछि सोही बललाई नियन्त्रणमा लिँदै खेदिराले गोल गरेका थिए ।

यसैगरी ७०औं मिनेटमा रोनाल्डो आफैले टोलीको अग्रता दोब्बर बनाएका थिए । स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लबमा आबद्ध भएका पोर्चुगिज खेलाडी रोनाल्डोले युभेन्ट्सका लागि सिरिएमा गरेको यो २०औं गोल हो । इटालियन सिरिएमा भने क्लबका लागि रोनाल्डोले गरेको यो १८औं गोल हो । रोनाल्डोले विपक्षीको मैदानमा खेलिएको लगातार नौ खेलमा गोल गरेका छन् । निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि युभेन्ट्सका लागि एमर कानले तेस्रो गोल थपेका थिए । उनी लिभरपुलका पूर्वखेलाडी हुन् ।

साविक विजेता युभेन्ट्स जारी सिजनको घरेलु लिगमा पनि हालसम्म अपराजित छ । हालसम्म २३ खेल खेलेको युभेन्ट्सले २० खेल जितेको छ भने तीन खेलमा बराबरीको नतिजा निकालेको छ । युभेन्ट्स ६३ अंकसहित पहिलो र समान खेल खेलेको नापोली ५२ अंकसहित दोस्रो स्थानमा छन् । इटालियन सिरिए उपाधिमा लामो समयदेखि एकाधिकार जमाउँदै आएको युभेन्ट्स लगातार आठौं उपाधि चुम्ने अभियानमा छ ।

सिरिएका अन्य खेलमा इन्टर मिलानले पार्मालाई उसैको मैदानमा १-० गोलले हरायो भने एटलान्टाले घरेलु मैदानमा एसपीएएललाई २-१ गोलले पराजित गर्‍यो । हालसम्म २३ खेल खेलेको इन्टर मिलान ४३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ३९ अंक बटुलेको एसी मिलान भने चौथो स्थानमा छ । समान ३८÷३८ अंक जोडेका एएस रोमा, एटलान्टा र लाजियो गोलअन्तरका आधारमा क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्