नारायणी अस्पताललाई सांसद यादवले दिए पीपीई सेट



वीरगञ्ज– वीरगञ्जमा बुधबार कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्जको नारायणी अस्पतालमा पीपीई सेट प्रदान गरेका छन् ।

पर्सा जिल्लामा कोरोना संक्रमण फैलिँदै गएपछि कोरोना संक्रमित बिरामीलाई चेकजाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभाव हुन नदिन सांसद यादव आज बिहिबार नारायणी अस्पतालमा पुगी अस्पतालका चिकित्सक तथा कोरोना उपचार केन्द्रका संयोजक डा. उदयनारायण सिंहलाई पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

वीरगञ्जमा बुधबार १७ जनामा थप कोरोना संक्रमित पुष्टि भएपछि नारायणी अस्पतालमा उपचाररत कुल कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

जिल्लामा कोरोना संक्रमित बढेसँगै निरन्तर संक्रमित बिरामीको उपचारमा खटिरहेका स्वास्थयकर्मीहरू कोरोना संक्रमणको जोखिमबाट जोगिएर कोरोना महामारीलाई रोक्न सकुन भन्ने उद्देश्यसहित स्वास्थयकर्मीहरुलाई पीपीई सेट वितरण गरेको सांसद यादवले बताए ।

त्यसै गरी अहिले बीरगन्ज क्षेत्रमा परिचालित रहेका १० वटा एम्बुलेन्सका चालकलाई सांसद यादवले आवश्यक सुरक्षा सामग्री वितरण गरेका छन् । प्रत्येक एम्बुलेन्स चालकलाई पीपीई ड्रेस, गम बुट, पंजा, कैंप चस्मा र सेनिटाइजर उनले उपलब्ध गराएका हुन् ।

कोरोनाको उच्च जोखिममा रहेको वीरगञ्ज कोरोना फैलिन नदिन आवश्यक पर्ने हरेक सामग्री उपल्ब्ध गराउन आफू तत्पर रहेको सांसद यादवले बताए ।

पर्साबासीको लागि मात्रै होइन, देशका सम्पूर्ण जनतालाई कोरोना जस्तो भ्यावह महामारीबाट जोगाउन चिकित्सकहरुले निर्वाह गरिहेको भूमिका समस्त देशबासीकै लागि कल्याणकारी रहेको बताउँदै सांसद यादवले कोरोना विरामी चेकजाँच गर्ने चिकित्सकलाई सुरक्षाका निम्ति सम्पूर्ण स्वास्थय सामग्री उपलब्ध गराउन संघीय सरकारसँग माग पनि गरे ।

कोरोना भाइरसको लडाईमा आम सर्वसाधारण जनता सजगताका साथ यसबाट बच्ने हरेक उपाय अपनाई यसको रोकथाम गर्ने लडाईमा आम जनताले पनि उतरदायि भूमिका खेल्नु पर्ने नागरिक कर्तव्य रहेको सांसद यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्