डिपिएलमा काठमाडौं र धनगढी तथा रूपन्देही र महेन्द्रनगर भिड्दै



धनगढी:  तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट आजदेखि शुरु हुदैछ । वर्षाका कारण दुई दिन पछाडी सरेको प्रतियोगिता आजबाट शुरु हुन लागेको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजेबाट हुँदैछ । काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । धनगढी स्टार्सको नेतृत्व सोमपाल कामीले गर्नेछन्।

त्यस्तै, आज नै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजेबाट शुरु हुनेछ । रुपन्देही बसन्त रेग्मीको कप्तानीमा मैदान उत्रिने छ भने महेन्द्रनगर शरद भेषवाकरको कप्तानीमा मैदान उत्रिदैछ । प्रतियोगितामा ६ टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको छ । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् ।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने छ । उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्