वीरगन्ज महानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको छैनः मेयर सरावगी



वीरगन्जः वीरगन्ज महानगरपालिकाले लकडाउनबाट प्रभावित अतिविपन्नको लागि वडा नं.१४ पिप्रामा वितरण गरेको राहतमा कुहिएको चामल फेला परेको बारेमा वीरगन्जका मेयर विजय सरावगीले वितरण गरिएको चामल नकुहिको स्पष्ट पारेका छन् ।

नगर सभागृहमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मेयर सरावगीले प्रचारमा आए जस्तो चामल नकुहिएको र खान योग्य रहेको जानकारी गराए । उनले भने, वितरण गरिएको राहतको विषयमा महानगरले बनाएको ३ सदस्यीय छानबिन समितीले दिएको प्रतिवेदन अनुसार चिसोले गर्दा तिनबोरा चामल ओसिएकोले चामल अलि भिजेको जस्तो देखिएको थियो ।

मेयर सरावगीले पत्रकार सम्मेलनमा चामलबारे अनावश्यक भ्रम फैलाउने वडा अध्यक्ष भरत कुर्मीलाई बैठकबाट सचेत गराउने निर्णय भएको बताएका छन् । राहतमा वितरण गरिएको चामल कुहिएको भनेर राहत वितरणको काममा अवरोध सृजना गरेका वीरगन्ज महानगरपालिका वडा नं १४ का वडाध्यक्ष भरत राउत कुर्मीले महानगरको बोर्ड बैठकमा पुगेर माफी मागेको दावी गरेका थिए ।

महानगरपालिकाको बोर्ड बैठक बैशाख २३ गते सम्पन्न भएको थियो । सोही बैठकमा वडाध्यक्ष भरत कुर्मीले राहत वितरणका लागि प्राप्त चामलको गुणस्तर सम्बन्धमा आफूले गलत कुरा गरी सोही बमोजिम गलत सुचना प्रवाह गरेको स्वीकार गर्दै बैठकमा माफी मागेको मेयर सरावगीले बताए ।

कुर्मीले माफी मागेपछि बोर्ड बैठकले उनलाई कारवाही गर्दै अव उप्रान्त त्यस्तो गल्ती नगर्नसचेत गराउने निर्णयसमेत भएको थियो । बोर्ड बैठकमै वडा नं १४ को राहत वितरणका सम्बन्धमा छानविन गर्न बनेको टोलीले बुझाएको प्रतिवेदनमा पनि छलफल भएको थियो ।

महानगरपालिकाद्धारा गठित छानविन समितिले वडा नंं.१४ को कार्यालयमा पुगी स्थलगत अध्ययन, सरोकारवाला पक्षको धारणासहित तयार पारेको प्रतिवेदनले चिसोले गर्दा चामल ओसिएको निष्कर्ष निकाल्दै बाहिर प्रचारमा आयो जस्तो चामल कुहिएको नरहेको ठहरसहितको प्रतिवेदन बुझाएको थियो ।

सरावगीले महानगरपालिकाले सम्पादन गरेको काम कार्वाहीकाबारेमा सत्य, तथ्य, वास्तवीक र विश्वसनिय सुचना दिन आमसंचार माध्यम र संचारकर्मीहरुसँग अपिल गरे । संकटको यस घडीमा महानगर र नेतृत्व बिरुद्ध नगरबासीलाई भ्रम नछर्न, तथ्यहिन, कुराहरु संचार माध्यम र सामाजिक संजालमासमेत प्रकाशन प्रसारण नगर्न सबैमा अनुरोध गरिएको थियो ।

महानगरपालिकाले पत्रकार सम्मेलन गरेको २४ घण्टा नवित्दै माफी मागेका भनिएका वडा अध्यक्ष कुर्मीले शनिबार वडा समिति कार्यालयमा छुट्टै पत्रकार सम्मेलनको आयोजना गरी राहत वितरणका लागि वडा नं.१४ मा पठाइएको चामल प्रकरणमा आफूले माँफी नमागेको दावी गरेका छन् । उनले आफनो बिरुद्ध षड्यन्त्र भएको भन्दै मानमर्दनको प्रयास गरिएको बताए ।

‘यस्तो कु प्रचारको म भत्सार्न गर्छ’ वडाध्यक्ष राउतले भने, कुहिएको चामल पठाएका कारण आफूले वितरण नगरेको र नगर प्रमुख सरावगीले गरेको भ्रष्टाचारको खुलासा गरेपछि आफूविरुद्ध विभिन्न खाले षडयन्त्र रचि आफूलाई बदनाम गराउँन खोजेको उनले आरोप लगाए ।
नगरप्रमुख जनताको सेवाभन्दा पनि अनियमिततामा लागेको उनको आरोप छ ।

महानगरपालिकाले आफै खरिद गरेर यस वडामा राहत वितरणका लागि पठाएको चामल गुणस्तरहीन फेला परेपछि आफुले चामल फिर्ता गर्न बारम्बार गुहार गरेपछि सुनवाई नभएकोले मिडियामा गएको बताए ।

उनले भने, ‘महानगरपालिकाले पठाएको राहतको चामल कुहिएको थियो, त्यही भएर आफूले वितरण नगरेको हो’ आफले गरेको गल्ती सुधार्न भन्दा पनि उल्टै जनताबाट निर्वाचित जनप्रतिनिधिको बिरुद्ध आफ्ना आसेपासे कर्मचारीहरुलाई पठाएर छानबिनको झुठो प्रचार प्रसार गरी आफ्नो मान मर्दन गर्न खोजे उनले आरोप लगाए ।

उनले भने, ‘मेरो गल्ती थियो भने, मेयर साहेब आफै किन नआएर छानविन गरेका हुन्, म माथिको ठूलो मेयर साहेक नै हुन कर्मचारी होईनन्’ छानविनलाई आफूले स्वीकार नगरे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्