डेढ महिनापछि प्रादेशिक अस्पतालको नियमित तर्फका सम्पूर्ण सेवा सुचारु



जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरले करिव डेढ महिना पश्चात नियमित तर्फका आफ्ना सम्पूर्ण सेवाहरु सुचारु गरेको छ ।

गत चैत १२ गतेदेखि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सी बाहेकका सबै सेवाहरु बन्द गरिएको थियो ।

नियमित सेवा बन्द भएको झण्डै डेढ महिना पश्चात शुक्रबारदेखि प्रादेशिक अस्पतालको नियमित लगायत सम्पूर्ण सेवा सुचारु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जामुन प्रसाद सिंहले जानकारी दिए ।

शुक्रबारदेखि ओपीडि तथा अपरेशनका बिरामीहरु आउन थालेको उनले बताए । उनले सेवा सुचारु गरेको पहिलो दिनमै १ सय १० जना ओपिडी र २१ जना इमरजेन्सी बिरामीहरुको जाँच गरिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्