लेभल–२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा,इन्फेक्सन कन्ट्रोल गर्ने पर्याप्त व्यवस्था



जनकपुरधाम– प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालको हाताभित्र अवस्थित नर्सिङ्ग क्याम्पसमा लेभल-२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा आएको छ ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको ४२ बेडको यस विशेष अस्पतालमा प्रादेशिक अस्पतालमा आएका नियमित सेवा तर्फ मध्ये चिकित्सकहरुले कोरोनाको शंका गरेका बिरामी र कोरोना शंकास्पद भनि रेफर भईआएका बिरामीहरुलाई यस विशेष अस्पतालमा राखिने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जामुन प्रसाद सिंहले जानकारी दिए ।

उनले कोरोना पोजेटिभ बिरामीलाई समेत यसै विशेष अस्पतालमा राखेर उपचार गरिने बताए । निर्माण गरिएको संरचनामा इन्फेक्सन कन्ट्रोल गर्ने पर्याप्त व्यवस्था गरिएको र कर्मचारी कर्मचारीको बिचमा इन्फेक्सन नसर्ने तथा अस्पतालबाट समुदायमा इन्फेक्सन नसर्ने व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए ।

उनले भने– ‘यस विशेष अस्पतालमा आईसियु,अपरेशन थिएटर र लेबर रुम समेतको व्यवस्था गरिएको छ । बिरामी नुहाउने,लुगा धुने,लुगा सुकाउने ठाउँहरुको सुरक्षित प्रबन्ध मिलाउनुका साथै बिरामीलाई हिँडडुल गर्ने पर्याप्त ठाउँहरुको व्यवस्था गरिएको छ ।’

यो विशेष अस्पताल सञ्चालनमा आएपछि कोरोनाको उपचारमा महत्वपुर्ण योगदान पुग्ने विश्वास गरिएको छ । प्रादेशिक प्रयोगशालाको ल्याब हाल प्रादेशिक अस्पतालमै सञ्चालनमा रहेको र दैनिक पीसीआर जाँच भईरहेको समेत डाक्टर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्