जनकपुरधाम–७ का ४५२ परिवारलाई तेश्रो दिन राहत बाँडियो, बाँकी ३५९ लाई बुधबार बाँडिने



जनकपुरधाम– लकडाउनका कारण छाक टार्न समस्या भएका आफ्ना वडाका विपन्न परिवारलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ ले आज (शनिबार) तेश्रो दिन राहत वितरण गरेको छ।

दैनिक ज्यालादारी गरेर छाक टार्ने आफ्नो वडाका १ हजार २ सय ३५ घरधुरीलाई राहत बाँड्ने योजना अनुरुप आज तेश्रो दिन ४ सय ५२ विपन्न परिवारलाई उपमहानगरले उपलब्ध गराएको १५ किलो चामल,खानेतेल,साबुन र नगद ३ सयका दरले बाँडिएको वडाध्यक्ष जानकीराम साहले जानकारी दिए।

आफ्नो वडाका १ हजार २ सय ३५ घरधुरीलाई राहत बाँड्ने योजना अनुरुप वडाध्यक्ष साहले यसअघि पहिलो दिन १ सय ८६ र दोश्रो दिन २ सय ३८ परिवारलाई राहत सामग्री उपलव्ध गराएका थिए । बाँकी रहेका ३ सय ५९ घरधुरीलाई बुधबार राहत वितरण गरिने उनले जानकारी दिए।

यसअघि जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निष्कर्ष लगाएका थिए।

यसैबिच,जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ ले समेत शनिबार प्रदेश सरकारले घोषणा गरेको दोश्रो चरणको राहत वितरण अन्तर्गत ६० परिवारलाई राहत सामग्री उपलव्ध गराइएको वडाध्यक्ष मनोज कुमार साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्