एथलेटिक्सको निर्णायक तालिम सुरू



विराटनगर : खेलकुदको विकास गर्ने क्रममा विभिन्न कार्यक्रम गर्दै आएको मोरङ जिल्ला खेलकुद विकास समितिले सोमबारदेखि विराटनगरमा एथलेटिक्स निर्णायक तालिम सुरू गरेको छ । 

 

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मोरङ एथलेटिक्स संघको सहकार्यमा ३ दिने प्रदेश १ स्तरीय ‘एथलेटिक्स निर्णायक तालिम’ सोमबारदेखि सुरू भएको छ । एथलेटिक्स खेलमा नयाँ प्राविधिक कुरादेखि लिएर खेल्ने खेलाउने नियम परिवर्तन हुँदै आएको सन्दर्भमा समितिले तालिम आयोजना गरेको जानकारी दिएको छ । 

 

लामो समयदेखि यस्ता खालका कुनै पनि जानकारी मुलक कार्यक्रम नहुँदा खेल्ने र खेलाउनेबीच विवाद हुने मात्र होइन कि यहाँबाट प्रतिनिधित्व गरेर बाहिर खेल्न जाँदा खेलाडीलाई समेत समस्या पर्ने गरेको सहभागीहरुले बताएका छन् । 

 

देश संघीयतामा गइरहँदा खेलकुदलाई समेत त्यसै अनुरुप बनाउनुपर्ने हुँदा अब यस प्रदेशमा रहेका प्रशिक्षक, पूर्व खेलाडी र निर्णायकलाई नयाँ प्राविधिक कुराको जानकारी दिन कार्यक्रम गरेको हो । 

 

प्रदेश १ का विभिन्न जिल्लाबाट ४१ जनाको प्रतिनिधित्व रहेको कार्यक्रमका संयोजक तथा मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यले बताए । 

 

उनले भने, ‘हामीले खेलको विकासका लागि यस्ता खालका तालिम आयोजना गर्न थालको छौं ।’ ‘यहाँ प्रशिक्षक गराइ रहनु भएका प्रशिक्षक, पूर्व खेलाडी र निर्णायकलाई नयाँ कुरा दिनका लागि तालिम आयोजना गरेको हौं,’ अमात्यले भने, ‘यस तालिममा सहभागिता जनाउनु हुने सबैले नयाँ नियम र अन्य खेल खेलाउने नयाँ प्राविधक कुरा सिक्नु हुन्छ भन्ने आश गरेका छौं ।’

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविना नगरकोटीले भने, ‘हामी खेलकुद विकासका लागि विभिन्न प्रकारका गतिविधि गर्दै आएका छौं ।’ एथलेटिक्सका गतिविधि पहिले धेरै हुने गरेको थियो भने पछिल्लो समय त्यस्ता गतिविधि न्यून हुँदै जाँदा नयाँ खेलाडी उत्पादन गर्न समस्या परेको छ । 

 

‘एथलेटिक्स खेलको पहिले धेरै विकास भएको थियो,’ नगरकोटीले भने, ‘त्यसको अनुपातमा अहिले केही भएको छैन जस्तो लग्छ । किनभने पहिला यस क्षेत्रबाट धेरै जना चर्चित राष्ट्रिय खेलाडी उत्पादन भएका थिए, अहिले आएर त्यो पूरै बन्द भएको अवस्था रहेको छ ।’ अब हामी सबै मिलेर एथलेटिक्स खेलको विकास गर्न लाग्नु पर्ने समय आएको छ, नगरकोटीले भने । 

 

सो अवसरमा एथलेटिक्सका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणाले भने, ‘लामो समयसम्म अपडेट नभएकाले खेलमा खेलाडी र निर्णायकले धेरै समस्या झेल्नु परेको छ ।’ खेल सञ्चालन गर्न नयाँ प्राविधिक कुराको जानकारी नहुँदा झगडा हुने लगायतका धेरै समस्या झेल्नु परेले यस्ता तालिमको आवश्यकता रहेको छ ।

 

 देश नयाँ संरचनामा गइररहँदा पुराना र नयाँ प्रशिक्षक तथा निर्णायकले खेलाडीलाई खेलका नयाँ प्राविधि कुराको ज्ञान दिनु जरुरी हुन्छ, राणाले भने । कार्यक्रम नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य किरण गिरीले कार्यक्रमको सफलताको शुभकामना दिँदै एथलेटिक्स खेलको विकासका लागि सबै मिलेर अघि बढ्नु पर्ने बताए । 

 

तालिम कार्यक्रममा पूर्वाञ्चल खेलकुद विकास समितिका प्रशिक्षक प्रशिक्षण प्रमुख शिवनारायण श्रेष्ठ, मोरङका प्रशिक्षक प्रशिक्षण प्रमुख विमल पोखरेल, पूर्व प्रशिक्षक नारायण प्रधान, एथलेटिक्स संघ मोरङका अध्यक्ष दिनेश कर्णको उपस्थिति रहको थियो । तालिम माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्