सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा ३५ जनाको टोली बुधबार दार्चुलाको छाङरु जाँदै



काठमाडौं : दार्चुलाको छाङरुमा बुधबार सशस्त्र प्रहरी पठाउने तयारी भएको छ । बुधबार नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरीको फौज लिएर छाङ‌रु जाने भएको हुन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङरुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए । 

छाङ‌रुमा सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा ३५ जनाको टोली पठाउने तयारी छ । यसका लागि मेडिकल उपकरण,हातहतियार व्यवस्थापन,मौसमी प्रतिकूलताविरुद्ध जुध्‍ने अन्य उपकरण लगायत बन्दबस्तीका अन्य सामग्रीहरु व्यवस्थापन गर्न सशस्त्र प्रहरीले कार्ययोजना बनाउन थालेको छ ।

यता सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविन श्रेष्ठका आनुसार भारतले नेपालको भूमि हुँदै तिब्बतको कैलाश मानसरोवर जाने सडक निर्माण गरेपछि तत्काल सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको जानकारी दिए ।

उनका अनुसार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा यसअघि नै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना निर्णय भएको थियो । सोही निर्णय अनुसार तत्कालका लागि अस्थायी र संरचना बनेपछि स्थायी रुपमा बस्ने गरि सशस्त्र प्रहरीको टोलीलाई त्यसतर्फ पठाइन लागेको हो ।

सोही क्षेत्रमा बीओपी स्थापनाका लागि जमिनसमेत सशस्त्र प्रहरीले प्राप्त गरिसकेको डीआईजी श्रेष्ठले जानकारी दिए ।

‘बीओपी राख्ने निर्णय पहिले नै भइसकेको थियो । अहिले नै संरचना बनिसकेको अवस्था छैन । केही दिनमै टोली त्यहाँ जान्छ । भाडाका घरमा र टेन्टमा बस्न शुरु गर्छौं ।’ डीआईजी श्रेष्ठले भने–‘तत्काल प्रहरी निरीक्षकको कमाण्डलमा टोली पठाउने तयारी भएको छ । हेलिकप्टर टोली पठाउने तयारी भएको छ ।’

यसका लागि सरकारले सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई तयारीका लागि निर्देशन समेत दिइसकेको छ ।

दार्चुलाका सशस्त्र प्रहरीका उपरीक्षक डम्बरबहादुर विष्टले भने– ‘सरकारको निर्देशन पाएलगत्तै हामी तयारी हालतमा छौं । गुल्मले तयारी गरिरहेको छ । आदेश आउनासाथ हामी ‘मुभ’ भइहाल्छौं ।’

सशस्त्र प्रहरीका उपरीक्षक विष्टका अनुसार प्रारम्भिक चरणमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना समूह छाङरु पठाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्