आयमूलक सीप सिकाइमा महिला आकर्षित



वीरगन्ज : पर्सा जिल्लाको ग्रामीण भेगका युवती र महिला पछिल्लो समय विभिन्न खालका आयमूलक सीप सिकेर आफूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन थालेका छन् ।

आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसकेर घरमै बस्न बाध्य युवती र चुलोचौकामै सीमित रहने गरेका गृहिणी महिला अहिले सिलाइकटाइ, ब्युटिसियन, खेलौना बनाउने, तरकारी तथा च्याउ खेतीलगायतका आयमूलक सीप सिकेर व्यावसायिक बन्दैछन् ।

पर्साको पटेर्वासुगौली, सखुवापरसौनी, जिराभवानीलगायत गाउँपालिकाका गृहिणी महिला पछिल्लो समय सिलाइकटाइमा बढी आकर्षित हुँदै गएका छन् । सामान्य लेखपढ गर्न सक्नेले पनि सिलाइकटाइ पेसा अँगाल्न सक्ने तथा थोरै लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने भएपछि सिलाइकटाइ पेसाप्रति महिलाको आकर्षण बढ्दै गएको सखुवापरसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँमा रहेको मिनी महिला सिलाइकटाइ प्रशिक्षण केन्द्रकी प्रशिक्षक गीता चौधरीले बताइन् । चौधरीले मासिक पाँच सयमै आपूmले उक्त सीप सिकाउँदै आएको बताइन् ।

मिनी महिला सिलाइकटाइ प्रशिक्षण केन्द्रबाट मात्रै ६० जनाभन्दा बढी महिला तालिम लिएर आत्मनिर्भर बनिसकेका छन् भने अहिले पनि १५ जना महिलाले तालिम लिइरहेको चौधरीले बताइन् । आयमूलक सीप सिक्दा जीविकोपार्जन सहज हुने र आपूmलाई खिन्नता पनि नहुने सोचले सिलाइकटाइ तालिम लिएको सखुवापरसौनीकी सुनीता राउतको भनाइ छ । 

आर्थिक अभावले बीचमै पढाइ छोडेर घर बसेका युवती र किशोरी पनि सिलाइकटाइसम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्दै गएका प्रशस्त उदाहरण पर्साको ग्रामीण भेगमा पाइन्छन् ।

पटेर्वासुगौलीकी २० वर्षीया युवती आशा माझिन पनि पैसाको अभावमा बीचमै पढाइ छोड्न बाध्य भएकी थिइन् । सिलाइकटाइ सिकेर परिवार चलाउन सक्षम हुने हुँदा सीप सिक्न थालेको उनले बताइन् । आफूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन ग्रामीण क्षेत्रका महिला पछिल्लो समय सीपमूलक पेसातर्फ आबद्ध हुँदै गएका छन् ।

 

पर्सामा सीपमूलक कार्यक्रमअन्तर्गत एक सयजनाभन्दा बढी महिला र युवतीले सिलाइकटाइ, ब्युटिसियन र खेलौना बनाउने तालिम लिएको घरेलु तथा साना उद्योग कार्यालय, वीरगन्जका उद्योग अधिकृत सुनील केशरीले बताए ।

सिलाइकटाइ तालिमसँगसँगै ग्रामीण महिलालाई ढाका, अल्लो, बाँस, कुखुरापालन, सिस्नो प्रशोधनलगायत तालिम पनि दिँदै आएको अधिकृत केशरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्