रामकुमारले घर बनाईदिएपछि पल्टुको परिवार हर्षित



जनकपुरधाम: धनुषाको कमला नगरपालिका वडा नं.७ स्थित जागिर टोलका अति विपन्न मुसहर समुदायका पल्टु सदालाई स्थानीय युवा रामकुमार साहले आफ्नो व्यक्तिगत सहयोगबाट घर बनाइ दिएका छन् ।

वर्षौदेखिको पुरानो घर पूर्णरुपले टुटिसकेकोले पल्टु लगायत उनका परिवारका ७ जना सदस्यहरु बिचल्लीमा परेपछि स्थानीय युवा साहले घर निर्माण गरिदिएका हुन् ।

‘विश्वभर फैलिएको कोरोना महामारीले मान्छे दुःखद परिस्थितीको सामना त गरिनै रहेको छ त्यसमाथि दिनदिनै समस्यासमेत प्रतिकूल बन्दै गईरहेको छ,’साहले भने,‘यसै अवस्थालाई दृष्टिगत गर्दै हामीले पल्टु सदाको परिवारलाई बस्नका लागि घर निर्माणमा जुटेका छौं ।

सदा शारिरिक रुपले अपाङ्ग रहेको र उनको परिवारमा कमाउने व्यक्ति कोही नरहेकोले उनीहरु यस्तो बिषम परिस्थितीमा झन समस्यामा परेका छन् ।

एक त खानलाई अन्न छैन् झन त्यसमाथि बस्ने घरकोसमेत कुनै अतोपत्तो नरहेकाले पल्टुको परिवारको दुःखको कुनै सिमा नै छैन । उनले पल्टुको घर अहिले पूर्णरुपले तयार भईनसकेकोले त्यसमा सहयोगको अझै आवश्यकता रहेको बताए ।

‘घरमा चाहिने आबश्यक श्रोत साधनका लागि हामी अझ सहयोग जुटाउन लागिपरेका छौं’,उनले भने,‘चाँडै सबै काम सकाएर पल्टुलाई सो घर हस्तान्तरण गरिनेछ ।’ खपडाको छाना हालेर चिटिक्क पारिएको पल्टुको घर वरपर लामो समयदेखि थुप्रिएको फोहरसमेत सरसफाइ गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका बीचमा पनि साह,उनका पिता र स्थानीय केही युवाले मिलेर घर निर्माण गरिदिएपछि बेसहारा जीवन बिताइरहेका पल्टुका परिवार हर्षित भएका छन् । पल्टुको घर निर्माणमा रामकुमारसँगै किशुन सदा, रामअशिष सदा र राजेश साहलगायत छिमेकी युवाहरुले तन,मन,धनले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्