भैरहवा भन्सारबाट ११ करोडको औषधि आयात



भैरहवा: बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रुपन्देहीबाट ११ करोड १६ लाख ६० हजार ४१३ बराबरको औषधिजन्य सामग्री आयात भएको छ ।

भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको औषधि र औषधिको कच्चा पदार्थ रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईले जानकारी दिए ।

उक्त कार्यालयका अनुसार गत चैत ११ गतेपछि बन्दाबन्दीको ४६ दिनमा ६० लाख ७ हजार ८२७ किलोग्राम बराबरको औषधिजन्य सामग्री आयात भएको छ । बन्दाबन्दीपछि ज्वरो आउँदा प्रयोगमा ल्याइने सिटामोलदेखि लाइफ सेभिङ ड्रग आयात भएका छन् । तिनमा आयुर्वे्दिक औषधि, सर्जिकलका सामग्री, आँखाका औषधि, स्लाइन, प्रेसर, एन्टिबायोटिक इन्जेक्सन रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकारी पूर्ण लम्सालले बताए ।

आर्थिक वर्ष २०७५-७६ मा सो भन्सार कार्यालयबाट औषधिजन्य दुई अर्ब २७ करोड ६१ लाख ८४ हजार ८११ बराबरको सामग्री आयात भएको थियो । सो अवधिमा भारतबाट भैरहवा भन्सार कार्यालय हुँदै एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलुप्याज, तरकारी तथा फलफूल र अन्य गरी सात हजार ५२१ मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गरेका छन् ।

बन्दाबन्दीको ४६ दिनका अवधिमा रु सात करोड ६८ लाख ५३ हजार मूल्य बराबरको सरसफाइमा प्रयोग हुने सामग्री ४७३ मेट्रिक टन भारतबाट नेपाल आयात भएको भन्सार कार्यालयको अभिलेखले बताउँछ । तरकारी तथा फलफूल रु ८९ करोड ६९ लाख एक हजार बराबरको २८ हजार ८५ मेट्रिक टन सामान बोकेर कन्टेनर बन्दाबन्दी समयमा भैरहवा भन्सार कार्यालय हुदै नेपाल प्रवेश गरेका छन् ।

बन्दाबन्दीपछि रुपन्देही प्रहरीमा अपराधसम्बन्धी ८३ उजूरी दर्ता भएका छन् । जबर्जस्ती करणीका १० उजूरी परेका छन् । तिनमा तीन महिला र बालिकासहित सात पीडित छन् । बालयौन दुरुपयोगसम्बन्धी दुई उजूरी छन् ।

बालक र वृद्ध दुईदुई तथा महिला र पुरुष एकएक गरी ६ भवितव्य ज्यानसम्बन्धी उजूरी प्रहरीमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कर्तव्य ज्यान र विषादी सेवन एकएक, आत्महत्या प्रयास ६, मानिस हराएको १४, फुटकर ज्यान तीन ( अचानक मृत्यु ), घरेलु हिंसा चार र छिमेकी हिंसासम्बन्धी सात उजूरी परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्ग खत्रीले जानकारी दिए ।

जिल्लामा सबैभन्दा धेरै आत्महत्याका घटना भएका छन् । आत्महत्याबाट २८ को ज्यान गएको छ । बन्दाबन्दी भएको ४७ दिनका अवधिमा १२ महिला, ६ बालिका, पाँच बालक, चार वृद्ध र एक पुरुषले आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।

धेरैजसो आत्महत्या हुनाको कारण मानसिक तनाव, कमजोर आर्थिक अवस्था र अवैध यौन सम्बन्ध भएको उनले बताए । महिलामा भने घरायसी कारणले बढी आत्महत्या हुने गरेको पाइएको छ । जिल्लामा चोरी तस्करीका घटना र सार्वजनिक अपराध भने शून्य छ । आर्थिक वर्ष २०७५-७६ मा रुपन्देही प्रहरीले एक हजार ८३७ मुद्दा सरकारी वकिलको कार्यालयमा दर्ता गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्