‘जनचेतना अभावमा विकराल बन्दै अटिज्म’



जनकपुरधाम : बच्चाहरुमा देखिने अटिज्म (जन्मजात हुने अपांगता) बारे जनकपुरधाममा दुईदिने अन्तरक्रिया सुरु भएको छ ।

 

अटिज्म केयर नेपाल सोसाइटीद्वारा आयोजित कार्यक्रमको पहिलो चरणमा स्थानीय पत्रकारलाई अटिज्मको परिचय तथा यसबाट हुन सक्ने असर र समाधानका उपायबारे जानकारी गराइएको छ । दोस्रो चरणमा मंगलबार साँझ बालचिकित्सक र बुधबार अभिभावक तथा सरोकारवालासँग अन्तरक्रिया गरिने सोसाइटीले जनाएको छ । 

सोसाइटीकी अध्यक्ष डा. सुनीता मलेकु अमात्यले जनचेतनाको अभावमा अटिज्मले विकराल रुप लिँदै गएको बताइन् । दक्ष र अनुभवी जनशक्तिको अभावमा यसलाई नियन्त्रण गर्न गाह्रो भइरहेको उनले बताइन् ।

अटिज्म भएका बच्चालाई समयमै उपचार गरे निको हुने सम्भावना बढी हुन्छ । खासगरी बालबालिकाको १८ महिनादेखि ३ वर्षसम्मको उमेरमा अटिज्म पहिचान गर्न सकिने उनले जानकारी दिइन् ।

अमेरिकामा कार्यरत चिकित्सक डा. अर्चना कायस्थले नेपालमा अटिज्म भएका बच्चा धेरै हुन सक्ने भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् ।

 

के हो अटिज्म ?

अटिज्म बच्चाहरुमा जन्मजात हुने एक विशेष प्रकारको अपांगता हो । कुनै व्यक्तिको उमेरको विकाससँगै संवाद, विचार, बुझाइ र भाषासहितको व्यवहार उमेरसापेक्ष नहुनु, आम व्यक्तिको भन्दा फरक हुनु, एउटै संवाद दोहोर्‍याउनु, अरुको कुरामा कुनै प्रतिक्रिया नदिनु लगायतको अवस्थालाई अटिज्म भनिन्छ । एक तथ्यांकअनुसार ५९ जना बालबालिकामा एकजनामा अटिज्मको समस्या हुन्छ । अटिज्म बालिकाभन्दा बढी बालकलाई देखा पर्छ ।

प्रतिक्रिया दिनुहोस्