धनगढी स्टार्स पाँच रनले पराजित



कैलाली । धनगढीमा जारी तेस्रो रुस्लान धनगढी  प्रिमियर लिग डिपिएलमा घरेलु टोली धनगढी स्टार्स लगातार दोस्रो खेलमा पराजित भएको छ ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा धनगढीलाई सिवाईसी अत्तरियाले पाँच रनले पराजित गरेको हो । ९६ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढीले २० ओभरमा नौ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो ।

मध्यम सुरुवात् गर्दै पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको थियो । तर सुविन्धु पाण्डे मात्र तीन रनमा आउट भएपछि उसले पहिलो विकेट गुमायो । त्यसलगत्तै अर्का ओपनर जयकिशन कोल्सावाला व्यक्तिगत २१ रनमा आउट हुँदा अत्तरियाले २७ रनमा दोस्रो विकेट खेर फाल्यो ।

कप्तान दिपेन्द्र ऐरी पनि धेरै बेर क्रिजमा टिक्न सकेनन । उनी ११ रनमा पेभेलियन फर्किदा अत्तरियाको स्कोर ४५ रन थियो । उसले स्कोरबोर्डमा अरु २० रन थप्दा थप दुई विकेट गुमायो । प्रेम तामाङ १२ रनमा आउट भए भने सन्दिप जोरा मात्र दु्रई रनमा पेभेलियन फर्किए ।

अत्तरियाका लागि सन्नी पटेलले अविजित ३५ रनको योगदान गरे । बलिङमा धनगढीका राहेन मुस्तफाले दुई तथा सोमपाल कामी, अमिर हायात र बिपीन खत्रीले १÷१ विकेट लिए ।

जवाफमा धनगढी २० ओभरमा नौ विकेट गुमाउँदा ९० रनमा रोकियो । फितलो ब्याटिङ गरेका धनगढीले १० रन हुँदा पहिलो विकेट गुमायो भने ६५ रन बनाउदा छ विकेट खेर फाल्यो । उसका ओपनर सुनील धमला चार रनमा आउट भए भने पहिलो खेलमा अर्धसतक बनाएका अमित श्रेष्ठले खाता खोल्न सकेनन् ।

त्यसपछि विदेशी खेलाडी रोहन मुस्तफा १८ रनमा पेभेलियन फर्किदा पवन सर्राफले पनि खाता खोल्न सकेनन् । एकपछि अर्को विकेट गुमाएको धनगढीका कप्तान सोमपाल कामी पनि १० रनमा आउट हुँदा सन्दिप रजाइली मात्र ११ रनमा बाहिरिए । लगत्तै अमिर हायात पनि चार रनमा पेभेलियन फर्किएपछि धनगढीले ७० रनमा सात विकेट गुमायो । लगत्तै सौरभ खनाल पनि आउट हुँदा उसले आठ विकेट गुमायो ।

अन्ततः धनगढी ९० रनमा रोकियो । अन्तिम बलमा धनगढीलाई जितका लागि छ रन चाहिएको थियो, तर राजु रिजाले प्रहार गर्न सकेनन । उनले अविजीत २६ रन बनाए । अत्तरियाको जितको आधार उसको उत्कृष्ट बलिङ र फिल्डिङ बन्यो । बलिङमा भुवन कार्कीले चार तथा सन्नी पटेलले दुई विकेट लिए । भुवनले चार ओभरमा मात्र १० रन खर्चिएर चार विकेट लिएका हुन ।

दोस्रो खेलमा बिराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स खेल्दै छ्न ।

 

प्रतिक्रिया दिनुहोस्