राष्ट्रियता भाषणमा, सीमारक्षक सिपाही भत्किएका झुप्रोमा



काठमाडौं : धेरै ठाउँमा बोर्डर आउट पोस्ट (बिओपी)का भवन छैनन्, विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । नेपाली सुरक्षाकर्मीले सिम पनि भारतकै प्रयोग गर्नुपर्छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतीय बाटो हिँड्नुपर्छ ।

सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । कोरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन् धेरै बिजोग छ । हुरी, बतास आउँदा र पानी पर्दा उनीहरू पाल समातेर बस्न विवश छन् ।

सीमा सुरक्षा गर्न भारतकै बाटो, भारतकै फोन
भूपेन्द्र वली/दाङ

  • दाङको गुरुङ नाकामा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन

भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् । 

बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहरूले भारतकै सिम प्रयोग गर्नुपर्छ । ‘कोइलाबासबाहेक अन्य कुनै पनि स्थानमा हाम्रो फोनले काम गर्दैन । कतैकतै स्काईको सिमले काम गरे पनि भरपर्दो छैन । जिल्लासँग सम्पर्क गर्नुपर्दा र इन्टरनेट प्रयोग गर्नुपर्दा भारतीय सिमको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सशस्त्र प्रहरी बल कोइलाबासका इन्स्पेक्टर विशाल पाण्डेले भने, ‘यसो गर्दा सुरक्षा जोखिम त छ, तर अर्को उपाय पनि छैन ।’ अस्थायी पोस्टहरू स्थानीय विद्यालयमा राखिएका छन् । 

सुरक्षाकर्मीले दैनिक उपभोग्य सामान पनि भारतबाटै ल्याउनुपर्छ । विद्युत् नहुँदा सोलारबाट सञ्चारसेट चार्ज गर्छन् । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ । ‘नेपालतर्फ सडक सञ्जाल जोडिएको छैन । त्यसैले एउटा पोस्टबाट अर्कोमा जानुपरे भारतकै सडकको प्रयोग गर्नुपर्छ,’ इन्स्पेक्टर पाण्डेले भने, ‘अर्को देश भएकाले भारतीय अनुमति नलिई हातहतियार पनि बोक्न पाउँदैनौँ ।’

टिनका टहरामा रात बिताउँदै सशस्त्र प्रहरी
बर्दिया/यज्ञप्रसाद सापकोटा

गत आइतबार भारतको हिमाञ्चल हुँदै नेपालको पश्चिम क्षेत्रमा हावाहुरीसहित ठूलो वर्षा भयो । दिउँसो करिब ३ बजेतिर हावाहुरी धनगढी आइपुगेको खबर सुनेपछि बर्दियाको कालाबन्जरस्थित सशस्त्र प्रहरीको बिओपीमा हल्लीखल्ली मच्चियो । हावाहुरीबाट टिनका टहरा जोगाउन हतारहतार जवानहरू खटिए । टिनका छानामा माथिबाट फलामे तार लगाई जमिनमा काठका किला ठोकेर बाँध्न थाले । तर, हुरी आउन्जेल गाडी राख्ने र खाना खाने टहरो भने बाँध्न भ्याएनन्, दुवै टहराको टिन हुरीले उडाएर लग्यो । 

बिओपी राख्दा सुरुमा त्रिपालको ओत मात्रै थियो । गत वर्ष तीनपटकसम्म हुरीले त्रिपाल उडाएपछि स्थानीय व्यापारी र इँटा उद्योगीको सहयोगमा सशस्त्रले टिनका टहरा बनाएको थियो, तर ती पनि असुरक्षित छन् । ऐलानी जग्गामा टहरा बनाइएका छन्, पक्की घर बनाउन बजेट छैन । पटक–पटक गृह मन्त्रालयमा आग्रह गर्दासमेत जग्गा पाउन नसकिएको सशस्त्रका एक अधिकृतले बताए । 

बर्दियामा सशस्त्र प्रहरी सीमा सुरक्षा बलको एक हेडक्वार्टर र पाँचवटा बिओपी छन् । हेडक्वार्टर मात्रै आफ्नै जग्गामा व्यवस्थित रूपमा बनेको छ । पछिल्लो समय कोरोनाको संक्रमणबाट जोगाउन सीमामा खटिएका सशस्त्र प्रहरी त त्रिपालमुनि नै कष्टकर ढंगले बसेका छन् । हावाहुरी र पानी पर्दा उनीहरूलाई ज्यान जोगाउनै हम्मे पर्छ ।
 
कैलालीमा कार्यालय र सुत्ने कोठा एउटै
धनगढी/तेजराज भट्ट

कैलालीको फूलबारीस्थित वडा कार्यालयको भवनमा बसेको सशस्त्र प्रहरीको बिओपीमा न्यूनतम पूर्वाधारसमेत छैनन् । टिनको छानोमा रहेको एउटै हलमा कोचिएर बस्छ ३५ जनाको टोली । हलकै एक कुनामा कम्प्युटरलगायत सामान राखेर कार्यालय बनाइएको छ । ३५ जनाका लागि दुईवटा शौचालय र एउटा पानीको धारा छ । 

‘शौचालय जान पनि लाइन लाग्नुपर्छ । सबैजना बसेर खान मिल्ने मेस छैन । पालैपालो खान्छौँ,’ बिओपी इन्चार्ज इन्स्पेक्टर जयबहादुर महतोले भने, ‘पानी आए कार्यालयबाहिर पहरा बस्ने ठाउँ पनि छैन । भित्र पनि सुत्ने ठाउँमै कार्यालय बनाएका छौँ ।’ चार वर्षअघि नेपाल–भारत सीमाभन्दा करिब डेढ किलोमिटरवर सशस्त्रको क्याम्प बसेको हो । भवन अभावले अधिकृतदेखि जवानसम्म एउटै कोठामा सुत्छन् । सीमामा सशस्त्रकै नाममा तीन बिघा जग्गा भए पनि बजेट अभावले भवन निर्माण गर्न सकेको छैन ।

टीकापुरको खक्रौला भन्सार नाकामा रहेको बिओपीमा भवन नै छैन, सशस्त्र प्रहरी पाल टाँगेर बसेको छ । मोहना नदीको किनारामा रहेको बिओपीमा खानेपानी छैन । ह्यान्डपाइपको पानी खानयोग्य छैन । एउटै शौचालय हुँदा खुला शौच गर्नुपर्ने बाध्यता रहेको बिओपी इन्चार्ज इन्स्पेक्टर चन्द्रदेव भट्टले बताए । पूर्वाधार अभावले काम गर्न चुनौती रहेको उनले बताए ।

कैलालीमा ६ वटा बिओपी थप्ने सरकारको केही महिनाअघिको निर्णयअनुसार धनगढीकै बंगराकटानमा डेढ महिनाअघि स्थापना गरिएको बिओपीमा पनि न्यूनतम् पूर्वाधारको अभाव छ । झ्यालका ढोका छैनन्, फ्ल्याक्स झुन्ड्याइएको छ । सुत्ने ठाउँको अभावमा बाहिर दुईवटा पाल लगाइएको छ । बिओपी इन्चार्ज इन्स्पेक्टर साजेन्द्र श्रेष्ठले भने, ‘हावाहुरी आउँदा टिन थामेर बस्नुपर्छ ।’ नयाँ थपिएका ६ वटा बिओपी सीमानाका बन्द गरिएपछि अस्थायी संरचना निर्माण गरेर सञ्चालनमा ल्याइएका हुन् ।

पुराना पाँचवटा बिओपीको पनि आफ्नो भवन छैन । सबै बिओपी अर्काको भवनमा बसेको सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी कमलप्रसाद तिउसिनाले बताए । भजनीको बिओपी सीमाभन्दा करिब चार किलोमिटरवर भजनी बजारस्थित नेपाल टेलिकमको भवनमा बसेको छ । कैलारी गाउँपालिकाको भुँइयाफाँटामा गाभिएर खाली भएको विद्यालयमा बिओपी छ । त्यस्तै धनगढीको त्रिनगर भन्सार नाकामा रहेको बिओपी भन्सारकै भवनमा बसेको छ ।

‘पुरानै क्याम्पहरूमा पूर्वाधार अभाव छ । जसोजसो बसिरहेका छन्,’ एसपी तिउसिनाले भने, ‘नयाँ क्याम्पहरूमा झनै समस्या छ, सशस्त्र प्रहरीले पानीसमेत खान नपाएर ड्युटी गरिरहेको छ ।’ 

बाँकेमा त्रिपालमुनि बसेर सीमा रक्षा
बाँके/विश्वराज पछल्डङ्ग्या

सीमा सुरक्षाका लागि बाँकेमा खटिएका सशस्त्र प्रहरीलाई आइतबार बेलुकी हुरीबताससँगै परेको पानीबाट आफू र हतियार जोगाउन धौ–धौ भयो । पालमुनि बसेका सशस्त्र प्रहरी पाल समातेर बसिरहे । 

‘हुरीबतास चल्न सुरु हुनासाथ सबैजना टेन्ट समातेर बस्छौँ । पानी चुहिएर सुत्न मिल्दैन । आकाशमा कालो बादल मडारिन थाल्यो भने सात्तोपुत्लो जान्छ,’ जानकी गाउँपालिका–१ स्थित बिओपीका एक प्रहरीले भने । सीमामा खटिएका सशस्त्र प्रहरीसँग न त आवश्यक बन्दोबस्तीका सामान छन्, न पिउने पानी र बिजुली नै छ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई अवैध सामान ओसारपसार र भारतबाट हुने अवैध घुसपैठलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि दिइएको छ । कोरोनाका कारण नाका सिल भएपछि भारतबाट आउनेलाई रोक्ने जिम्मेवारी पनि सशस्त्र प्रहरीले नै पाएको छ । 

भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटर क्षेत्रमा ११ किलोमिटरको दूरीमा सशस्त्रको बिओपी रहेको सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति एसपी दीपक अधिकारीले बताए । उनका अनुसार फरवार्ड बेस क्याम्प ६, चाइनिज टेन्टले बनाएको सुरक्षा पोस्ट २५ र गार्ड पोस्ट ६५ वटा छन् । ११ किलोमिटरको दूरीमा बिओपी र सयदेखि एक सय ५० मिटरको दूरीमा गार्ड पोस्ट निर्माण गरिएको उनले बताए । ‘भारतीय सीमा सुरक्षा बलजस्तै सुरक्षाकर्मी परिचालन गर्न प्रत्येक तीन किलोमिटरमा बिओपी हुनुपर्छ भन्ने मेरो माग छ,’ एसपी अधिकारीले भने । 

इलाममा ५२ किमि सीमाको गस्ती गर्न तीन लिटर इन्धन
इलाम/ख्याम भुुजेल

भारतसँग इलामको सन्दकपुरदेखि रोङ गाउँपालिकाको जिर्मलेसम्म ५२.५ किलोमिटर भूमि जोडिएको छ । इलामको पशुपतिनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीले सीमा सुरक्षाका लागि दैनिक यो क्षेत्रमा गस्ती गर्नुपर्छ । यसका लागि सशस्त्रलाई महिनाको सय लिटर अर्थात् दिनमा करिब साढे तीन लिटर इन्धन मात्रै दिइएको छ । 

त्यति मात्रै होइन, बिओपीमा एउटा मात्रै गाडी छ । यहाँ ३५ सशस्त्र प्रहरी कार्यरत छन् । उनीहरूले सीमामा हुने चोरीपैठारी नियन्त्रण र भिआइपीको सवारी हुँदा त्यसमा पनि परिचालन हुनुपर्छ । पशुपतिनगरस्थित पुरानो भन्सार कार्यालयमा रहेको बिओपी पोस्ट जीर्ण छ, सुरक्षाकर्मी डराइडराई बस्नुपरेको उनीहरूले बताएका छन् । यो क्षेत्रमा थप सात ठाउँमा बिओपी राख्न स्वीकृति मिलेको भए पनि स्थापना हुन सकेको छैन ।

मोरङमा अस्थायी पोस्टमा टर्च छैन, मोबाइलकै भर

कोरोनाका कारण मोरङको भारतसँग जोडिएको सीमा क्षेत्रमा अस्थायी बिओपी राखिएका छन् । अस्थायी पोस्टमा रहेका सशस्त्र प्रहरी पालमै ड्युटी गरिरहेका छन् । बिजुली, खानेपानी, शौचालयलगायतका आधारभूत सुविधा पनि छैन । हावाहुरीले पाल उडाउँदा समस्या हुने गरेको इस्लामपुर अस्थायी बिओपीका वरिष्ठ हवल्दार तीर्थ श्रेष्ठले बताए । राति सुत्नसमेत गाह्रो हुने गरेको उनले बताए । ‘मास्क, स्यानिटाइजर छैन । सबैलाई टर्च उपलब्ध छैन । राति मोबाइलको टर्च प्रयोग गर्नुपर्छ,’ उनले भने । अस्थायी बिओपीमा खटिएका सशस्त्र प्रहरीसँग साइकल मात्रै छन् । मोरङमा स्थायी र अस्थायी गरेर ७१ स्थानमा चार सय ६ जना सशस्त्र प्रहरी खटिएका छन् । 

धनुषामा जनशक्ति नहुँदा १५ घन्टासम्म ड्युटी
जनकपुरधाम/हदिश खुद्दार

भारतसँग जोडिएको धनुषाको सीमा क्षेत्रमा सशस्त्रका सातवटा बिओपी छन्, तर कतै पनि आफ्नो भवन छैन । भाडाकै कच्ची घरमा बसेका छन् । ‘भौतिक रूपमा हाम्रा सबै बिओपीको अवस्था कमजोर छ,’ धनुषाका एसपी राजेश उप्रेतीले भने । 

अहिले कोरोनाका लागि नौवटा अस्थायी पोस्ट थपिएका छन् । ती पनि विद्यालय, सार्वजनिक भवन र पाल टाँगेर राखिएका छन् । धेरै पोस्ट हुँदा जनशक्ति अभाव छ । ‘जनशक्ति कम छ । अहिले भएको जनशक्तिले १५–१६ घन्टासम्म आलोपालो गरी काम गर्नुपर्ने बाध्यता छ,’ एसपी उप्रेतीले भने । 


हात्तीले भत्काएको भवनमा बिओपी
कञ्चनपुर/मोहन विष्ट

भारतसँग जोडिएको कञ्चनपुरको एक सय २९.५ किलोमिटर सीमा क्षेत्रमा ६ वटा बिओपी छन् । भारततिर भने साढे दुई किलोमिटरको दूरीमा एसएसबीका बिओपी छन् । बेलौरी र दोधारामा मात्रै पक्की भवन छ, अन्यत्र कच्ची भवनमै बसिरहेका छन् ।

पुनर्वास नगरपालिका–९ बीचफाँटामा स्थापना गरिएको बिओपी हात्तीले भत्काएको घरमा छ । ६ वर्षअघि हात्तीले भत्काएपछि स्थानीय वीरबहादुर सुनारको परिवारले घर छाडेको थियो, त्यहीँ बिओपी राखिएको छ । 

त्यस्तै, बेलौरी र दोधाराबाहेकका बिओपीमा खानेपानी, विद्युत्, शौचालयको अभाव छ । कार्यालय एवं सुत्नका लागि पनि समस्या हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ । कच्ची भवनहरू पानी पर्दा चुहिने गरेका छन् । ‘हावाहुरी, पानी पर्दा त कसरी बाँच्ने भन्ने चिन्ता हुन्छ,’ एक सशस्त्र प्रहरीले भने ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहुले स्रोतसाधन अभाव रहेको बताए । ‘हामीसँग पर्याप्त स्रोतसाधन छैनन्, भएका पनि थोत्रा भइसकेका छन्,’ उनले भने । कञ्चनपुरमा ६ सय २१ जनाको दरबन्दी भए पनि त्यसअनुसार पदपूर्ति भएको छैन । कोरोनाका लागि बनाएका २३ वटा अस्थायी पोस्टमा त पालकै भर छ । हावाहुरीले पोस्ट नै उडाउने गरेको छ । 

महाकाली किनारमा टेन्टकै भर
दार्चुला/पदम बडाल

दार्चुला सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीलाई भारतबाट आउने नेपालीलाई रोक्न १० ठाउँमा परिचालन गरिएको छ । लाली, उकु, जौलजीवी र कालागाडमा पुराना भवनमा राखिएको छ भने खेट्टेबगरमा फोहोर व्यवस्थापन केन्द्रको भवनमा राखिएको छ । 

त्यस्तै, महाकाली किनारमा भने टेन्टकै मुिन बस्नुपरेको छ । हावाहुरी र पानी परेका वेला समस्या हुने भए पनि महाकाली किनारमा टेन्टको विकल्प नभएको ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताए । कालागाडबाहेक अन्य सबै क्षेत्रमा सडक पहुँच भएको तथा इन्धन, पिपिई र स्यानिटाइजरको उपलब्धता रहेको उनले बताए । जिल्लाका १० ठाउँमा एक सय २० जना प्रहरी खटिएका छन् । 

गस्तीमा गएको गाडी धकेलेर ल्याउनुपर्ने बाध्यता
सर्लाही/श्रवण थापा

भारतसँग जोडिएको सर्लाहीको ५१ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ६ वटा बिओपी छन् । बलरा, संग्रामपुर, खुटौना, त्रिभुवननगर, सिमरा र छतौनामा रहेका स्थायी बिओपीमा पनि स्रोतसाधनको अभाव छ । पर्याप्त भवन नहुँदा एउटै कोठामा २५ देखि ३० जवान सुत्दै आएका छन् । 

उनीहरूले दिनरात गस्ती गर्दा प्रयोग गर्ने सवारीसाधन पनि पुराना र बिग्रिएका छन् । गस्तीमा जाँदा बिग्रिएर पटक–पटक दुःख पाउने गरेको सशस्त्र प्रहरी बताउँछन् । उनीहरूका अनुसार, कतिपटक त दुर्घटनामा परेका छन् । ‘गस्ती गर्ने गाडी त गतिलो छैन, अरू के होला,’ एक सशस्त्र प्रहरीले भने । गस्तीमा गएको गाडी धकेलेर ल्याउनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । 

भवन पनि पुराना र चुहिने छन् । जनशक्ति पनि कमी छ । जसले गर्दा एउटैले दैनिक १५ घन्टासम्म ड्युटी बस्नुपर्छ । जिल्लास्थित सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति एसपी गंगाराम श्रेष्ठले यस विषयमा केही नबोल्ने बताए । भौतिक संरचना, स्रोतसाधनका विषयमा केही नबोल्न प्रधान कार्यालयबाट निर्देशन आएको उनको भनाइ छ । 

अरूकै भवनमा आश्रय
महोत्तरी/रञ्जन भण्डारी

महोत्तरीको भारतसँग जोडिएको सीमा क्षेत्र ३८.६ किलोमिटर छ, जहाँ सशस्त्र प्रहरीका ६ वटा बिओपी छन् । खैरवनीबाहेक अन्य बिओपीसँग भवन छैनन् । भन्सार र अन्य कार्यालयका भवनमा गुजारा चलाइरहेका छन् । ती कार्यालयले भवन प्रयोग गर्न नदिए कहाँ बस्ने ठेगान छैन । 

महोत्तरीमा रहेको सशस्त्र प्रहरीको ९ नम्बर गणका अनुसार, खान, बस्न र सुत्न पनि समस्या हुन्छ । आवश्यक भौतिक संरचना, साधनस्रोत छैन । सीमा क्षेत्रमा बाटो छैन । वर्षात्को समयमा त गस्ती गर्नै नसकिने गरेको सशस्त्र प्रहरी बताउँछन् । 

सिराहामा द्वन्द्वमा बमले भत्किएको र जीर्ण भवनमा बसेर सीमा सुरक्षा
सिराहा/मणिलाल विश्वकर्मा

सिराहाको ४८ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ६ वटा बिओपी छन् । सबै बिओपीको आफ्नो भवन छैन, सरकारी कार्यालयका भवन तथा भाडाका घरमा रहेका छन् । ती पनि पुराना र जीर्ण रहेका छन् । उनीहरूसँग पर्याप्त स्रोतसाधन पनि छैनन् । 

नवराजपुर गाउँपालिका– ४ स्थित सोनवर्षामा रहेको बिओपी जीर्ण भवनमा छ । सशस्त्र द्वन्द्वमा माओवादीले बम प्रहार गरेपछि प्रहरीले छोडेको थियो । त्यही भत्किएको भवनमा अहिले बिओपी छ । ठाढीस्थित बिओपीमा एउटा पिकअप भ्यान र एउटा मोटरसाइकल छ । त्यस क्षेत्रका पाँचवटा सहायक सीमास्तम्भको सुरक्षाका लागि समस्या भए पनि जनता आधारभूत विद्यालयमा फरवार्ड बेस क्याम्प स्थापना गरेर सशस्त्र प्रहरी राखिएको छ । त्यहाँबाट आवतजावत गर्नै समस्या हुन्छ । ‘बर्खामा डेढ फिटसम्म डुबान हुन्छ, त्यतिवेला पोस्टवरिपरि माटो भरेर डुबानको कहर काट्छौँ,’ इन्चार्ज जीवन खतिवडाले भने । 

अन्य बिओपीको अवस्था पनि यस्तै छ । सशस्त्र प्रहरी बल नं. ७ गणपति एसपी प्रवीण कँडेलले बिओपीमा अहिले पोस्टमा खटिने सुरक्षाकर्मीका लागि टर्चलाइट, मच्छरबाट जोगिन शरीरमा दल्ने ओडोमस मल्हम, स्यानिटाइजर, मास्क, झुल पठाएको बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्