कर्णाली प्रदेशमा अनिश्‍चितकालिन ‘नाकाबन्दी’



काठमाडौं : हालसम्म कोरोना संक्रमणबाट मुक्त रहेको कर्णाली प्रदेशलाई अनिश्चित समयका लागि नाकाबन्दी गर्ने निर्णय भएको छ । प्रदेश विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढ्न लागेपछि कर्णाली प्रदेशमा पनि जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै अनिश्चितकालका लागि नाकाबन्दीको समय बढाएको समाजिक विकास मन्त्री दलबहादुर रावलले जानकारी दिए ।

अब अर्को निर्णय नभएसम्मका लागि यो नाकाबन्दी जारी रहने भएको छ । तर, परिस्थितिलाई मध्यजनर गर्दै दैनिक उपभोग्य सामान, इन्धन, विउ विजन, मलखाद, माछामासु, दानापानी, विकास निर्माण र उद्योगका सामानहरु बोकेका सवारी साधनहरु भने निगरानी राखेर भित्र्याइने छ ।

यसअघिको नाकाबन्दीमा यी सामानमात्र होइन् एम्बुलेन्स समेत रोकिएको थियो ।
यसैगरी तत्काल जिल्ला बाहिरबाट आएर सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्लासम्म पठाइ अनिर्वाय रुपमा क्वारेन्टाइनमा राख्ने निर्णण समेत गरेको मन्त्री रावलले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढ्न थालेपछि गत २२ गते आफ्नो प्रदेश भित्र प्रवेश गर्ने नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्