जानकी आँखा अस्पतालमा तालाबन्दी



जनकपुरधाम : नागरिक समाजका अगुवाले जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जानकी आँखा अस्पतालमा तालाबन्दी गरेका छन् । राजनीतिक दलमा आबद्ध व्यक्तिलाई कर्मचारी नराख्न गरिएको माग पूरा नभएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

एक महिनाअघि नागरिक समाजका अगुवा र विभिन्न दलका प्रतिनिधिले सात दिन समय दिएर बुझाएको ११ बुँदे माग माग पूरा नभएको उनीहरुको भनाइ छ । इमरजेन्सी, ओपिडी र शल्यक्रिया सेवाबाहेक प्रशासन, लेखा र स्टोर शाखामा तालाबन्दी गरिएको छ ।

राजनीतिक दलसँग आबद्ध कर्मचारीलाई पदबाट हटाउनुपर्ने, अस्पतालमा कार्यरत भई बाहिर क्लिनिकमा काम गरिरहेका चिकित्सकलाई कारबाही, शैचालयको उचित व्यवस्थापन, मनपर्दी गर्दै आएका कर्मचारीलाई कारबाही गर्नुपर्ने माग ज्ञापनपत्रमार्फत पेस गरिएको छ । मागप्रति अस्पताल प्रशासनले बेवास्ता गरेका कारण बिरामीलाई असर नपर्ने गरी तालाबन्दी गरिएको रामविनोद चौधरीले बताए । उनीहरुले माग पूरा नभएसम्म तालाबन्दी जारी रहने चेतावनीसमेत दिएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्