लक्ष्य बाँसुरीबादक, आर्थिक अवस्था बाधक



म्याग्दी : म्याग्दीको बेनीबजारमा सञ्चालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षामा विभिन्न स्केलका १२ ओटा बाँसुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षीय एक किशोर बाँसुरीमै भविष्य खोज्न दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् ।

 

 घरको आर्थिक अवस्था कमजोर भएकै कारण बिहानबेलुकी रेडियोमा प्राविधिकको काम गरेर दिउँसो कलेजमा अध्ययन गर्ने बेनी नगरपालिका–६ अर्थुङ्गेका नवीन बानियाँको पेसा रेडियो प्राविधिकको भए पनि उनको चेष्टा कुशल बाँसुरीबादक बनेर चिनिने रहेको छ । 

 

८/९ वर्षको उमेरदेखि नै बाँसुरीमा ‘टक’ बसेपछि बाँसुरीबाट नै ‘लक’ (भाग्य) चम्काउने ध्याउन्नमा उनी लागेका छन् । बाँसुरीका प्वालहरूमा हात चल्न थालेपछि भोक र निद्रासमेत बिर्सिने गरेको बताउने बानियाँको बाँसुरीमोह कम रोचक छैन ।

    ८/९ वर्षको उमेरदेखि नै बाँसुरीमा ‘टक’ बसेपछि बाँसुरीबाट नै ‘लक’ (भाग्य) चम्काउने ध्याउन्नमा उनी लागेका छन् । बाँसुरीका प्वालहरूमा हात चल्न थालेपछि भोक र निद्रासमेत बिर्सिने गरेको बताउने बानियाँको बाँसुरीमोह कम रोचक छैन ।

 

  ‘म आठ वर्षको थिएँ,’ बानियाँले आफ्नो अतीत खोतल्दै भने, ‘मेरो मामा नारायण पौडेल बाँसुरी बजाउँदै उकालीओराली हिँड्नुहुन्थ्यो, त्यो बाँसुरीको धुनले मलाई सारै लोभ्याउँथ्यो । एक दिन मामाको बाँसुरी चोरेर बजाउँदै गर्दा आमाको कुटाइ खाएँ । त्यही कुटाइले मलाई बाँसुरीको झनै नजिक धकेल्यो र म एक दिन कुशल बाँसुरीबादक बनेर देखाउने प्रतिज्ञा गरेँ ।’ मामाको बाँसुरी चोर्दा खाएको आमाको कुटाइ नै बानियाँका लागि बाँसुरी बजाउने गजबको ऊर्जा बन्यो । म्याग्दीकाली एफएमका कार्यक्रम सञ्चालकसमेत रहेका बानियाँ झोलामा किताबसँगै बाँसुरी बोकेर हिँड्न थाले ।

बाँसुरीमा मन त थियो तर अरू स्केलका बाँसुरी किन्नका लागि बानियाँसँग धन थिएन । एउटा सानो बाँसुरी बजाएर मात्र कुशल बाँसुरी बादक बन्न सकिँदैनथ्यो । बानियाँले खाजा पनि नखाइकन पैसा बचत गर्न थाले बाँसुरी किन्नका लागि । गाउँमा हुने मेलापर्व, उकालीओराली र स्कुल आउँदाजाँदा बाँसुरी बजाउँदै हिँड्ने बानियाँको बाँसुरीमोह र कला देखेर कृष्णराज पौडेलले भिडियो खिचेर सामाजिक सञ्जाल युट्युबमा राखिदिए । त्यो भिडियो हेरेर स्याङ्जा घर भई हाल कोरियामा कार्यरत रन्जित राणाले १० हजार रुपैयाँ पठाइदिए । त्यही पैसाबाट बानियाँले विभिन्न स्केलका १२ वटा बाँसुरी किनेको बताए ।

 

 बानियाँले भने, ‘मेरो घरको आर्थिक अवस्था कमजोर छ, कमाइको भरपर्दो माध्यम केही पनि छैन । रन्जित सरले कोरियाबाट पठाइदिएको १० हजार रुपैयाँले बाँसुरी किनेको छु,अव रातदिन मिहिनेत गरेर नेपालको कुशल बाँसुरीबादक बन्ने मेरो उद्देश्य छ ।’

 

बानियाँको उद्देश्य उनको रुचि र क्षमतासँग मिल्ने खालको रहेको म्याग्दीकाली एफएमका स्टेसन म्यानेजर एवम् म्याग्दीका लोकगायक अमित विश्वकर्माले बताए । ‘नवीन साँच्चिकै प्रतिभाशाली केटा हुन् ।’  विश्वकर्माले भने, ‘उनलाई यतिबेला सहयोग र हौसलाको आवश्यकता छ ।

 

  बानियाँले १२ वटा बाँसुरीबाट विभिन्न किसि मका धुन निकाल्छन् । जस्तोसुकै लयमा पनि बाँसुरीको धुन निकाल्न सक्नु बानियाँको विशेषता रहेको लोकगायक विश्वकर्माको भनाइ छ ।

जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा बाँसुरी बजाएर पहिचान बनाउँदै गरेका बानियाँको प्रतिभालाई मर्न नदिन उनलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग र अवसरको वातावरण मिलाइदिनुपर्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्