पर्सामा पनि निषेधाज्ञा जारी



वीरगञ्ज : पर्सा जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण व्यापक बढ्न थालेपछि स्थानिय प्रशासनले जिल्लामा मंगलबार (आज) राती ८ बजेदेखि जेष्ट ५ गते राती १२ बजेसम्म निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जिल्लामा निषेधाज्ञा (कर्फ्यू) लागू गरेको निर्णय गरेको हो ।
संक्रमण रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरिएको जिल्लाका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

निषेधाज्ञा अवधीभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्तिहरु घरबाहिर ननिस्ने आहवान गरिएको छ । त्यसैगरी जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपाली, दुध, विद्युत, दमकल, संचार, भंसार, आईसीपि, क्वारेन्टाईन, फोहरमैला व्यवस्थापन, ईन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसायी सेवा संचालन बन्द गर्ने जनाईएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजि यात्रुबाहक सवारी साधन सञ्चालनमा समेत रोक लगाईएको छ । सञ्चारकर्मीहरुको सवारी साधनमा समेत संचालनमा रोक लगाईएको छ । सञ्चारकर्मीहरुमा समेत कोरोना संक्रमण देखा पर्न थालेपछि सवारी साधन संचालनमा रोक लगाईएको हो ।

छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएको थियो । तर सिमामा लुकिछिपी मानिसहरु आवागमन बढ्न थालेको गुनासो बढेपछि यसलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई एरिया डोमिनेशन गर्ने र अन्य जिल्लाबाट यस जिल्लामा हुने मानिसहरुको आवातजावत समेत जेष्ठ ५ गतेसम्म बन्द गर्ने सुरक्षा समितिले निर्णय गरेको हो ।

त्यसैगरी सुरक्षा समितिको बैठकले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्ट्राक्ट ट्रासिङ्ग गरी चेकजाँचको कामलाई तीब्र पार्ने र यसको लागि जनशक्ति सहित थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्बन्धित निकायहरुमा अनुरोध गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रण गर्न जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचाल गर्ने निर्णय भएको प्रवक्त बस्नेतले जानकारी गराए ।

जिल्लामा २ पत्रकार सहित ३९ जना कोरोना संक्रमित भेटिएपछि स्थानिय प्रशासनले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी भएको छ । पर्सा जिल्लामा मंगलबार मात्र कोभिड १९ पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार भेटिएका थिए ।

वीरगन्ज स्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार वैशाख २६ र २७ गते संकलित नमूनाको परीक्षण हुँदा पर्सामा थप ३९ जना कोभिड पोजेटिभ देखिएका हुन् । शुक्रबार र शनिबार संकलन गरिएको ६ सय ७७ नमुना मध्ये ३ सयको परीक्षण गर्दा ३९ जनाको पोजेटिभ पुष्टि भएको हो ।

डा. उपाध्याय अनुसार ३९ जना मध्ये २ जना पत्रकार रहेको खुलेको हो । गत शनिबार वीरगन्ज महानगरपालिका– २ छपकैयाको ट्रेसिङ साइटमा वीरगन्जका ४ जना पत्रकारले थ्रोट स्वाबको नमुना दिएका थिए । यसअघि ३ जना भारतीय मुस्लिम धर्म प्रचारकसहित वीरगन्जमा २५ जनामा कोराना पुष्टि भइसकेको छ ।

गत वैशाख २४ मा वीरगन्ज महानगरपालिका ३ छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएपछि कनट्याक्ट ट्रेसिङ तीव्र पारिएको थियो । बिहीवार, शुक्रबार र शनिबार गरि ८ सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

३९ जनामध्ये पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित श्री मंगल मावि विद्यालयको क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको १४ जनामा समेत कोरोना पोजेटिभ देखिएको हो । वीरगन्ज २ छपकैयामा स्वाब संकलन गर्दा वीरगन्जका १, २, ३, ४, १४ र १७ नम्बर वडाका व्यक्तिले स्वाबको नमूना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्