कालापानी, लिपुलेक नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना



काठमाडौं : दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट (बीओपी) स्थापनाभएको छ । भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्र नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो ।

आज (बुधबार) सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ ।

नेपाली सेनाको एम–१६ हेलिकप्टरमा आज बिहान काठमाडौंबाट गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली दार्चुला पुगेका थिए ।

‘जम्मा २५ जनालाई अहिले बीओपीमा राख्दैछौं, अरुलाई भोलि पठाउनेछौं’, सशस्त्र प्रहरीका एक अधिकृतले भने, ‘बन्दोवस्तीका सामान पनि सबै पुगिसकेको छैन ।’

छाङरुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।

दार्चुला सुदरमुकाम खलंगाबाट २ चरणमा गरि टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो । व्यास गाउँपालिका–१ मा नै पर्ने कालापानी, लिपुलेक भन्दा करीब १८ किलोमिटर वरै बीओपी स्थपना भएको हो ।

प्रतिक्रिया दिनुहोस्