संक्रमित बालिकाको उपचारमा संलग्न चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा



काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक, नर्स लगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

बिहीबार बिहान शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचारमा संलग्न चिकित्सक, नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रहेको पाइएको हो ।

उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।

साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासका अनुसार उनीहरुको सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरको छ ।

प्रतिक्रिया दिनुहोस्