यसो भयो भने सम्झनुहोस्, तपाईंको वैवाहिक जीवन धरापमा छ



विवाहपछिको जीवन सुखपूर्वक बितोस् भन्ने सबैको चाहना हुन्छ । तर सबैको चाहना पूरा नहुन पनि सक्छ । कसैको जीवन सुखपूर्वक बित्छ भने कसैकोमा समस्या हुन्छ । विवाह भएको केही वर्षसम्म सबै ठीकै हुन्छ तर पछि गएर विभिन्न समस्या आउन थाल्छन् । जसले गर्दा सम्बन्धविच्छेदको अवस्था पनि आउने गर्छ ।

 

वैवाहिक जीवनमा समस्या देखिने कारणमा विगतको विषयमा बढी कुरा गर्ने, झगडा, एकल निर्णय, ईश्र्या, छलकपट, यौनसम्बन्धमा उपेक्षा, सुल्झाउने भन्दा बल्झाउने स्वभाव, संवादहीनतालगायत छन् ।

विवाह भएपछि विगतको विषयमा बढी कुरा गर्नु हुँदैन । जोडीहरु विगतका विषयमा बढी कुरा गर्छन् र एकअर्कालाई गाली गर्ने तहसम्म उत्रन थाल्छन् तब बुझ्नुपर्छ कि सम्बन्धमा गम्भीर समस्या आइसकेको छ । पुरानो कुरालाई बिर्सिएर नयाँ तरिकाबाट जीवन बिताउनुपर्छ ।  

दम्पतीबीच सामान्यभन्दा सामान्य विषयमा पनि झगडा हुन थाल्यो भने बुझ्नुपर्छ कि त्यहाँ समस्या छ । त्यसैले सकेसम्म सानोसानो कुरामा झगडा गर्नु हुँदैन । दम्पतीमा राम्रो सम्बन्ध रहेसम्म एकअर्कालाई सोधेर सल्लाह गरेर निर्णय लिन्छन् । तर जब सम्बन्धमा तीक्तता आउँछ तव एक्लाएक्लै निर्णय लिने र एकअर्कालाई सोधपुछ नै नगर्ने हुन थाल्छ । यस्तो हुन थाल्यो भने सम्झनुस् दाम्पत्य जीवन धरापमा छ । यसमा मुख्य भूमिका अहम्को हुन्छ ।

 

दम्पतीमा सामान्यतया स्वस्थ प्रतिस्पर्धा हुन्छ । तर जव समस्या आउँछ तव एकले अर्कालाई होच्याउने वा अर्काको प्रगतिबाट जल्ने समस्या देखिन थाल्छ । यसले गर्दा एकअर्काप्रति विश्वास घट्दै जान्छ ।

 

जब दम्पतीबीच राम्रो सम्बन्ध हुन्छ उनीहरुले परिवारलाई हाम्रो भन्छन् । तर समस्या आउन थालेपछि मेरो भन्ने भावना प्रधान हुँदै जान्छ जुन दाम्पत्य जीवनका लागि खतरनाक संकेत बन्दै जान्छ ।

 

जब दम्पतीमा विश्वास हराउँदै जान्छ अनि एकअर्कासँग झुट बोल्ने, विवाहेतर सम्बन्ध बढाउने जस्ता समस्या देखिन्छन् । जब यस्तो कुरा सतहमा आउँछ त्यसपछि परिवार टुक्रिनुको विकल्प हुँदैन ।

 

जब जोडी बीच वैमनश्य बढ्दै जान्छ, तब यौनसम्बन्ध गौण बन्छ । यसमा कुनै रस हुँदैन । यौन गौण बन्न थाल्यो भने पनि वैवाहिक सम्बन्ध धरापमा पर्न सक्छ ।

राम्रो सम्बन्ध हुँदा दम्पतीमा सामान्य समस्या आयो भने सुल्झाउनतिर ध्यान हुन्छ । तर जब एकअर्काप्रति तीक्तता बढी हुन्छ तब समस्याको समाधानभन्दा थप समस्या निम्याउने प्रवृत्ति बढी देखिन्छ । यो पनि दम्पतीका लागि घातक संकेत बन्न सक्छ ।

जोडीबीच सम्बन्ध राम्रो हुँदा चाहिनेभन्दा पनि बढी कुराकानी हुन्छ । तर सम्बन्ध बिग्रन थालेपछि उनीहरुबीच अत्यावश्यक समयमा समेत संवाद हुन छाड्छ । जव संवादहीनता बढ्दै जान्छ त्यसले सम्बन्ध अन्त्यतिर आइपुगेको संकेत गर्छ । 

माथि उल्लिखित कुरामा समयमै ध्यान दिने हो भनेसमस्याको समाधान निस्कने र वैवाहिक जीवनमा नयाँ पन आउने सम्भावना हुन्छ  ।

प्रतिक्रिया दिनुहोस्