उपत्यकाभित्र दश हजारको कोरोना परीक्षण गर्ने गरी नमुना संकलन शुरु



काठमाडौं : काठमाडौं उपत्यकामा दश हजार जनाको कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्ने लक्ष्यअनुसार आज (बिहीबार)देखि नमुना संकलन गर्न शुरु गरिएको छ ।

देशभरि कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ ।

उपत्यकामा राहत वितरण गर्ने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मीलगायतको कोरोना परीक्षण गरिनेछ ।

सोहीअनुसार बिहीबार कालिमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ । कालिमाटीमा ६ सय जनाको कोरोना परीक्षण गर्न नमुना संकलन गरिएको हो ।

कालिमाटीमा दुई सय जनाको पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको छ भने चार सय जनाको आरडिटी परीक्षणका लागि नमुना संकलन गरिएको काठमाडौं महानगरपालिकाका– १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरले जानकारी दिए ।

वडाध्यक्ष मानन्धरका अनुसार होलसेल बजारलाई लक्षित गरी थोक बिक्रेता बढी व्यक्तिहरूको सम्पर्कमा रहनेहरूको पिसिआर र सवारीचालक तथा तरकारी ओसार्ने व्यक्तिहरूको आरडिटी परीक्षण गरिएको हो ।

उपत्यकामा जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

पहिलो चरणमा विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरूको परीक्षण गरिने उनले जानकारी दिए ।

बिहीबार कालिमाटी बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकहरूको पनि नमुना संकलन गरिएको उनले जानकारी दिए ।

चार दिनभित्र १० हजारको नमुना परीक्षण गरी सक्ने तयारी सरकारको छ भने पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणका कार्यक्रम सुरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्