संरक्षण अभावमा पारसनाथ मन्दिरको पहिचान गुम्दै



वीरगन्ज : सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा रहेको पारसनाथ मन्दिर पहिचान गुमाउने अवस्थामा पुगेको छ । सखुवाप्रसौनी गाउँपालिका–५ मा पर्ने यो मन्दिर सदरमुकाम वीरगन्जबाट करिब १३ किमि पश्चिम महुवन बजारमा छ ।

करिब चार सय ५० वर्ष पुरानो मानिएको यो ऐतिहासिक मन्दिरको नामबाट पर्सा जिल्लाको नामकरण भएको इतिहासकारहरुको कथन छ । उचित संरक्षण र मर्मतसम्भारको अभावमा मन्दिर परिसर जीर्ण बन्दै गएको छ तर सम्बन्धित निकायको आँखा परेको छैन । 

यो मन्दिर र मठ परिसर गुठी संस्थानको अधिनमा छ । जिल्लामा यसलाई महुवन मठको नामले पनि चिनिन्छ । मन्दिरमा भगवान् शिवको मूर्ति स्थापना गरिएको छ ।मूर्ति पनि जीर्ण बन्दै गरेको पुजारी राजेशकुमार मिश्रले बताए । मन्दिरको जग्गासमेत अतिक्रमणको चपेटामा परेको उनले बताए । ‘एक सय बिघाभन्दा बढी जग्गा भएको मठको बिजोग छ,’ पुजारी मिश्रले भने, ‘मठको जग्गामात्र होइन, मन्दिर परिसरकै जग्गा पनि अतिक्रमणमा परेको छ ।’

स्थानीय शम्भु साह तेलीले जिल्लाकै प्रमुख पर्यटकीय स्थल बन्न सक्ने सम्भावना बोकेको पारसनाथ मन्दिर परिसर सरकारी उदासीनता र नेताहरूको गैरजिम्मेवारीका कारण ओझेलमा परेको आरोप लगाए । अहिले पनि पारसनाथ मन्दिर र यसको जायजेथाको संरक्षण संवद्र्धनको योजना बनाएर काम गर्ने हो भने आन्तरिक र बाह्य पर्यटकसमेत आकर्षित गर्न सक्ने उनले बताए । 

२०२५ माघ ४ देखि यो मन्दिरको पुजारीको जिम्मेवारी सम्हाल्दै आएका ८० वर्षीय सुदामा मिश्रले मन्दिर परिसरको भान्सा घर, तहसिल घर, पाटन घर, कचहरी घर, गोठ सबै नष्ट भएको बताए । । अहिले जीर्ण मन्दिर मात्रै ठडिएको छ ।

‘मन्दिरका सबै भवन सिद्धिए’, उनले भने, ‘कसले गरिदिने अब मन्दिर र यसको जायजेथाको संरक्षण । चारैतिरबाट मन्दिर र यसका जग्गा च्यापिएका छन् ।’ मन्दिर जिल्लाकै धरोहर रहेकोले संरक्षणको जिम्मेवारी पनि जिल्लावासीकै रहेको उनी बताउँछन् ।

मठकै सम्पत्तिको संरक्षण गरिए र खाली जग्गामा वनभोज स्थलको रुप दिई बगैंचा निर्माण, आगन्तुकका लागि बास बस्ने कोठा निर्माण गरिए यहाँ पर्यटक भित्र्याउन सकिन्छ । होमस्टे सञ्चालन गरे पर्यटकको आगमन बढाउन सकिन्छ । बास बस्न उत्प्रेरित गरेर उनीहरूलाई तराईको झिझिया तथा अन्य सांस्कृतिक कार्यक्रम देखाएर मनोरञ्जन गराउन सकिन्छ । पर्साकै ठोरी तथा सुवर्णपुरमा पनि होमस्टेको अवधारणा सफल भएकोले यहाँ पनि त्यस्ता योजना ल्याउन सकिने सम्भावना छ । 

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जयसवालले मन्दिरको विकास गर्न मुख्यमन्त्री कोषबाट ३१ लाख रुपैयाँ बजेट निकासा भएको बताए । उनले छिटै नै मर्मत प्रक्रिया अगाडि बढाउने जानकारी दिए । ‘गत आर्थिक वर्षमा गाउँपालिकाबाट ५० लाख रुपैयाँ बजेट निकासा गरी मन्दिरको संरक्षण गर्न चारैतिर पर्खाल लगाइएको छ । केही भाग रङरोगन पनि गरिएको छ’, अध्यक्ष जयसवालले भने, ‘मन्दिरको अन्य जीर्ण भौतिक संरचना मर्मत गर्ने काम पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्