बैशाख ५ गते सुदूरपश्चिम गएको डाक्टरको टोली आज फर्किदै



धनगढी: सरकारले सुदूरपश्चिम पठाएको कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवसीय चिकित्सक आज काठमाडौं फर्किने भएका छन् ।

बैशाख ५ गते यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको थियो । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्का अनुसार उनीहरु आज दिउँसो काठमाडौं फर्किन लागेका हुन् ।

विश्वभरी नै कोरोनाको महामारी फैलिएका बेला सुदूरपश्चिम पनि उच्च जोखिममा रहेका कारण संघीय सरकारले ३३ जना चिकित्सक पठाएको थियो । सरकारी छात्रवृत्तिमा पढिरहेका ३३ आवासीय चिकित्सक मध्ये १४ सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा ४, अछाम, डडेल्धुरा, बझाङमा ३-३ जना खटाइएको थियो ।

यस्तै, बैतडी, दार्चुला र कैलालीको टीकापुरमा २-२ जना खटाइएको थियो । उक्त टोलीमा इन्टरनल मेडिसिनका १६ जना डाक्टर, सर्जरीका पाँच, बालरोगका दुई, एनेस्थेसियाका एक, अर्थोेपेडिकका तीन जना चिकित्सक थिए ।

त्यस्तै नाक कान घाँटीका दुई जना, स्त्रीरोगका दुई जना र दुईजना रेडियोलोजिष्ट रहेका थिए । उनीहरुको उपस्थितीमा ३ सातासम्म नियमित स्वास्थ्य सेवा प्रादानमा सजिलो भए पनि लकडउनका कारण धेरैलाई स्वास्थ्य सेवा दिन नसकिएको अस्पतालहरुले जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुङगानाले भने, ‘तीन जना चिकित्सकहरुले अन्य स्वास्थ्यकर्मीहरुलाई सुझाव सल्लाह दिएका थिए भने अरु नियमित स्वास्थ्य सेवा प्रदान गरिरहेका थिए । केही दिन उनीहरुले मोटिभेसनल कक्षासमेत संचालन गरेका थिए ।’

सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सामुहिक कार्य भएकाले उनीहरुको सहयोगमा विरामीहरुको उपचारमा केही सहजता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्