डिपिएल : विराटनगरको पहिलो जित



कैलाली : धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत तेस्रो दिनको दोस्रो खेलमा विराटनगर किंग्सले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको छ । विराटनगरले प्रतियोगितामा पहिलो जित निकाल्दा धनगढी लगातार तेस्रो खेलमा पराजित भयो ।

प्रतियोगितामा २ खेलबाट २ जित निकाल्दै रुपन्देही अङ्कतालिकाको शीर्षस्थानमा छ । विराटनगर आजको जितपछि २ अंकको साथ चौथो स्थानमा रहँदा धनगढी ३ खेलमा नै पराजित हुँदै अन्तिम स्थानमा रहेको छ । प्रतियोगिताअन्तर्गत चौथो दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया तथा दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।

विराटनगर किंग्सले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको धनगढी स्टार्सले ८२ रन बनाएर मात्र १९ ओभरभित्र समेटिँदा हारको सामना गर्यो । धनगढी स्टार्सलाई सस्तैमा समेट्न विराटनगरका अभिनाश यादव र कप्तान करण केसीले समान ४–४ विकेट लिए । किफायती बलिङ गरेका अभिनाशले ४ ओभरमा १० रन खर्चिंदा करण केसीले २४ रन दिएर सुनिल धमला, रोहन मुस्तफा, सन्दिप रजाली र पवन सर्राफलाई आउट गरे ।

आमिर हयात, सौरभ खनाल, सोमपाल कामी र बिपिन खत्री अभिनाशको सिकार बने । त्यस्तै सुसन भारीको नाममा २ विकेट रह्यो । २६ रनमा सुरुवाती ३ विकेट गुमाएको धनगढीका लागि सन्दिप रजाली र राजु रिजालले जोगाउने प्रयास गरेका थिए । रजालीसँग ३१ रनको साझेदारी गरेपछि राजु १५ रनमा आउट भएका थिए । त्यसपछि रजाली पनि व्यक्तिगत ३४ रनमा आउट भए ।

पवन सर्राफ, आमिर हयात, सौरभ खनाल र सोमपाल कामी चारैजना समान ४–४ रनमा आउट भएपछि टिम प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यबाट टाढा रह्यो । विपिन खत्री शून्य रनमा आउट हुँदा रोबिन क्षेत्री अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । उसले पहिलो ओभरमा नै हरिशंकर शाहलाई २ रनको योगफलमा गुमाएको थियो । त्यसपछि तेस्रो ओभरको चौथो बलमा कुशल भुर्तेल पनि ६ रन बनाएर आउट भएका थिए । असादउल्लाह खान पठान ३ रन, राजेश पुलामी १ रन बनाएर आउट भएपछि बिराटनगरले २७ रनमा ४ विकेट गुमाएको थियो ।

त्यसपछि अभिनाश यादवले आसिफ शेखसँग १५ रन र कप्तान करण केसीसँग ३२ रनको साझेदारी गरे । आसिफ १२ रन र यादव २७ रन बनाएर आउट भए । पृथु बास्कोटासँग थप १७ रनको साझेदारी गरेपछि करण पनि २१ रनमा पेभेलियन फर्किए । लगत्तै पृथु पनि ६ रनमा आउट भए । संसाद शेख अन्तिम बलमा ७ रन बनाएर बाउन्ड्रीमा क्याच आउट भए भने सुसन भारी १ रनमा अविजित रहे ।

बलिङतर्फ कप्तान सोमपाल कामीले ३ विकेट लिने क्रममा ३ ओभरमा ८ रन खर्चे । त्यस्तै बिपिन खत्रीले पनि ३ विकेट लिन १९ रन खर्चे । रबिन क्षेत्रीले १ ओभरमा २ विकेट तथा धमलाले ४ बलमा १ विकेट लिएका थिए । खेलमा अलराउन्ड प्रदर्शन गरेका करण केसी प्लेयर अफ द म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्