डिपिएल : रुपन्देहीलाई हराउँदै अत्तरिया विजयी



कैलाली : कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेपछि रुपन्देही च्यालेन्जर्सलाई ३९ रनको फराकिलो अन्तरले पराजित गर्दै सिवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ । दीपेन्द्रको अर्धशतकीय पारीमा अत्तरियाले दिएको एक सय २२ रनको लक्ष्य पछ्याएको रुपन्देही निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८२ रनमै समेटियो ।

रुपन्देहीका लागि सुमित महर्जनले २२, सन्दीप सुनारले १५ तथा प्रदीप ऐरी र विक्रम सोबले १४–१४ रन जोडे । त्यसबाहेक विनोद भण्डारीले १० रनबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । धनगढीका दीपेन्द्र रावत, भुवन कार्की र सन्नी पटेलले उत्कृष्ट बलिङ गरे । दीपेन्द्रले ४ ओभरको स्पेलमा ९ रन खर्चेर २ विकेट लिए । यस्तै भुवनले ४ ओभरको स्पेलमा २ ओभर मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए भने सन्नी पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अत्तरियाले दीपेन्द्रको उत्कृष्ट अर्धशतकीय पारीमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन जोडेको थियो । दीपेन्द्रले ५० बलको सामना गर्दै ६७ रनको पारी खेलेका थिए । सो क्रममा उनले १० चौका र एक छक्का प्रहार गरे । त्यसबाहेक अत्तरियाका सुवेन्दु पाण्डे, रित गौतम र सन्नी पटेलले समान १२–१२ रन जोडे । रुपन्देहीका ललितसिंह भण्डारीले ३ विकेट लिए । यस्तै विक्रम सोवले २ तथा वसन्त रेग्मी र पुनित मेहराले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्