मकैकाे चिउरा उद्याेगकाे उद्घाटन



दमक : झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरे । 

स्थानीय महारानीझोडा गसाना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो । 

सहकारीले सरकारको अनुदान र आफ्नै लगानीमा मकैको चिउरा उद्योग स्थापना गर्ने तयारी गरिरहेको संस्थाकी अध्यक्ष मीना ढकालले बताइन् । उद्योगका लागि चाहिने भवनको काम शुरु गरिएको छ भने उपकरण धमाधम आयात भइरहेको अध्यक्ष ढकालले बताए । 

उनका अनुसार उद्योगको कूल लागत रु तीन करोड ५० लाख रहेको र त्यसमध्ये सरकारको रु एक लाख ५० हजार अनुदान रहेको छ । उद्योगको अन्य लगानी भने सहकारीको रहेको संस्थाले जनाएको छ । 

आगामी ६ महीनाभित्रमा सञ्चालन हुने चिउरा उद्योग पूर्वमा पहिलो हुने र त्यसबाट मकैको चिउरा, पिठो, चामल उत्पादन हुने छ । 

प्रतिक्रिया दिनुहोस्