युरोपा लिगमा चेल्सीद्वारा माल्मो २-१ ले पराजित



लन्डन : युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता ‘युरोपा लिग’ को शुक्रबार बिहान  भएको खेलमा इङ्लिस क्लब चेल्सीले स्विडिस प्रतिद्वन्द्वी माल्मोमाथि २-१ गोलको जित हात पारेको छ । अन्तिम ३२ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा माल्मोलाई उसैको मैदानमा हराएपछि चेल्सीले अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

उक्त जितले चेल्सीका प्रशिक्षक माउरिजियो सारीलाई पनि केही राहत दिएको छ । गत आइतबार घरेलु लिग इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग चेल्सी ६-० गोलले पराजित भएपछि प्रशिक्षक सारीको निकै आलोचना भएको थियो । म्यानचेस्टर सिटीसँगको उक्त लज्जास्पद हारपछि प्रशिक्षक सारीको विकल्प खोजिने चर्चा पनि सुरु भएको थियो ।

माल्मोविरुद्धको खेलमा चेल्सीले दुबै हाफमा एक÷एक गोल गर्‍यो । खेल सुरु भएको ३०औं मिनेटमा रोस बार्कलीले चेल्सीका लागि पहिलो गोल गरेका थिए । उनले पेड्रोको पासमा गोल गरेका हुन् । उनले सन् २०१९ सुरु भएपछि चेल्सीका लागि गरेको यो पहिलो ‘अवे गोल’ हो ।

यसैगरी ५८औं मिनेटमा ओलिभर गिरोडले टोलीको अग्रता दोब्बर बनाएका थिए । गिरोडले युरोपियन प्रतियोगितामा लगातार चौथो खेलमा गोल गरेका हुन् । उनी सन् २०१३ को मेपछि चेल्सीका लागि युरोपियन प्रतियोगिताको लगातार चार खेलमा गोल गर्ने पहिलो खेलाडी हुन् । सन् २०१३ मा भने भिक्टर मोसेसले लगातार चार खेलमा गोल गरेका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि घरेलु टोली माल्मोका लागि आन्द्रेस क्रिस्टिन्सनले जवाफी गोल फर्काएका थिए । जारी सिजनको युरोपा लिगमा भने चेल्सी हालसम्म अपराजित रहँदै आएको छ । प्रतियोगिताको दोस्रो लेग खेल फेब्रुअरी २१ तारिखमा चेल्सीको घरेलु मैदानमा खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्