हेटौडा आन्तरिक राजस्वले उठायो सबा दुई अर्ब



हेटौंडा : प्रदेश ३ अन्तर्गत रहेको आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महिनामा विभिन्न स्रोतको राजस्वतर्फ कुल दुई अर्ब २६ करोड ७४ लाख ५५ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

सो कार्यालयले अन्तःशुल्कतर्फको राजस्वमा सबैभन्दा बढी एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार रुपैयाँ राजस्व असुली गरेको छ । यसैगरी आयकरतर्फ ४२ करोड चार लाख २५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ९८ लाख ९३ हजार रुपैयाँ, ब्याज करतर्फ २५ लाख ५२ हजार चारसय रुपैयाँ, घर बहालतर्फ १५ लाख ९३ हजार रुपैयाँ असुली भएको छ ।

स्वास्थ्य करतर्फ १० लाख १३ हजार चारसय रुपैयाँ र शिक्षा करतर्फ १८ लाख ९७ हजार रुपैयाँ राजस्व असुली गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमध्ये गोर्खा लाहिरी (चुरोट) उद्योग प्रालिले सबैभन्दा बढी राजस्व ६१ करोड ९० लाख रुपैयाँ र एसियन पेन्ट्स प्रालिले २६ करोड ९१ लाख रुपैयाँ राजश्व बुझाएको छ ।

यसैगरी अन्य उद्योगतर्फ नेपाल ब्रुअरी प्रालिबाट २२ करोड ९३ लाख रुपैयाँ, युनिलिभर प्रालिबाट ११ करोड २० लाख रुपैयाँ र शिवम् सिमेन्ट उद्योगबाट आठ करोड सात लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गरी वक्यौता रहेको रकममध्ये ८९ करोड ६० लाख रुपैयाँ राजस्वमा थप असुली गरिएको आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख वसन्त ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्