प्रमुखको सरुवा माग्दै पर्सा मालपोत कार्यालयमा प्रदर्शन



वीरगन्ज :  जिल्ला मालपोत कार्यालय पर्साका लेखापढी व्यवसायी र सेवाग्राहीले कार्यालय प्रमुखको सरुवा माग गर्दै प्रदर्शन गरेका छन । कार्यालयका प्रमुख गमबहादुर विकले लेखा व्यवसायीलाई सार्वजनिक स्थलमा अभद्र शब्द (दलाल) प्रयोग गर्ने गरेको र सेवाग्राहीबाट अवैध रकम असुली गरी दुःख दिएको आरोप लगाई प्रदर्शन गरिएको हो । 

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्सामा आबद्ध व्यवसायीले कार्यालय परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुलाई कार्यालय आएका सेवाग्राहीले पनि साथ दिएका छन् । विरोधका कारण कार्यालयको कामकाज ठप्प छ ।

विरोधका कारण कर्मचारी फाँट बन्द गरेर कार्यालय प्रमुखको कक्षमा जम्मा भएका थिए । कार्यालय बन्द भएछि सेवा लिन आएका कतिपय सेवाग्राही रित्तै फर्कन बाध्य भए । लेखापढी व्यवसायी आन्दोलनमा उत्रिएपछि शान्ति सुरक्षाका लागि मालपोत कार्यालयमा व्यापक प्रहरी परिचालन गरिएको छ । 

एसोसिएसनका अध्यक्ष रामाधारप्रसाद कलवारले कार्यालय प्रमुख विकले सार्वजनिक स्थल वा कुनै कार्यक्रममा लेखा व्यवसायीलाई अपमानित हुने शब्द प्रयोग गर्ने गरेको र सेवाग्राहीसँग घुस माग गरी अनावश्यक दुःख दिएको आरोप लगाए । ‘हामी कसैको दलाली गर्दैनौं । लेखापढी गरेबापत ज्याला लिने गरेको छौं’, कलवारले भने, ‘तर कार्यालय प्रमुख विकले सेवाग्राहीबाट घुस रकम असुल्न आधा दर्जनभन्दा बढी बिचौलियालाई अनधिकृत रुपमा कार्यालयको हरेक फाँटमा खटाएका छन् ।’ 

जिरा भवानी गाउँपालिका वडा नम्बर १ निवासी शेख महमदले जग्गा बिक्री गर्न आउँदा सोधपुछको नामका कार्यालयका अधिकृतले १ हजार रुपैया घुस मागेको आरोप लगाए । ‘एउटा जग्गा पास गर्न दुई दिनदेखि धाइरहेको छु’, उनले भने, ‘आज बिहान सम्पूर्ण लेखापढी सकेर अन्तिममा सोधपुछ गर्न जाँदा रजिस्ट्रेसन फाँटका एक अधिकृतले खर्चपानीका नाममा एक हजार रुपैयाँ माग गरे ।’ रकम दिन नसक्ने बताएपछि आफ्नो फाइल छेउमा फालिदिई एक छिनपछि आउनू भन्दै काम नै नगरिदिएको उनले बताए । 

कार्यालय प्रमुख विकले आफूले कुनै पनि सेवाग्राहीबाट घुस लिने काम नगरेको बताए । उनले कुनै पनि सार्वजनिक स्थल वा कार्यक्रममा लेखापढी व्यवसायीलाई अपमानित हुने शब्द प्रयोग नगरेको दाबी गरे । कर्मचारीले घुस मागेको लिखित उजुरी परे कारबाही गर्ने उनले बताए । 

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मालपोत कार्यालयका प्रमुखले बिचौलिया राखेर घुस लिएको प्रमाण फेलापरे कारबाही गरिने बताए । ‘कार्यालयको सेवा प्रवाह राम्रो हुनुपर्छ । कसैले सेवाग्राहीलाई दुःख दिने काम गरे त्यसलाई छोडिँदैन’, उनले भने, ‘मालपोत घटनाबारे हामी पनि अनुसन्धान गरीरहेका छौं । बिचौलिया र दोषी फेला परे कडा कारबाही गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्