काठमाडौंमा बस्दै आएकी झापाकी सावित्रीको शव मोरङमा भेटियो



विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका –१० स्थित भालुगौंडा जंगलमा शुक्रबार दिउँसो फेला परेको शव सावित्री खतिवडाको भएको पुष्टि भएको छ । झापा घर भएकी अन्दाजी ५०/५५ वर्षीय उनी काठमाडौंको चाबहिलस्थित मैंजुवहालमा बस्दै आएको खुलेको हो । 

उनी के कामले मोरङ आएकी थिइन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । घरबाट बिहीबार साँझ बजार जान्छु भनेर निस्किएकी उनी घर नफर्किएपछि परिवारका सदस्यले पनि खोजी थालेका थिए । 

घटनास्थलबाट बरामद गरिएको झोलामा र तीन हजार सात सय ९० रुपैयाँ नगद र दुई जोडी कुर्ता सुरुवाल भेटिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँका अनुसार पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा शव फेला परेको हो । घाँस दाउरा लिन जंगल गएका स्थानीय बासिन्दाले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शव उठाउँदा कीटनाशकको गन्ध आए पनि घटनास्थलमा कुनै विषादीका बट्टा फेला नपरेको प्रहरीले जनाएको छ । विषादी सेवन गराएर महिलाको हत्या गरिएको हुनसक्ने आशंका प्रहरीको छ । महिलाको शरीरमा कुनै चोटपटक छैन ।

‘बाहिर हेर्दा शरीरका कुनै पनि अङ्गमा चोटपटक देखिँदैन,’ प्रनि बजगाईँले भने, ‘ती महिला को हुन् र कहाँबाट त्यहाँ पुगिन् भन्ने पनि खुल्न सकेको छैन ।’

उनको साथबाट पृथ्वी राजमार्ग बस समितिले सञ्चालन गरेको ८०८६ नम्बरको बसको टिकट फेला परेको छ । बसको अल्फाबेट भने टिकटमा नखुलाइएको प्रहरीले जनाएको छ । 

शवलाई पोष्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मङ्गलवारे अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्